अन्तर्राष्ट्रिय

युक्रेन युद्ध रोक्न पुटिनसँग अमेरिकी टोलीको तीन घण्टा लामो वार्तामा के भयो ?

युक्रेनमा जारी रूसको युद्ध अन्त्य गर्ने विषयमा नयाँ वार्ताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार क्रेमलिनमा अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरसँग भेट गरेका छन्।

बन्द ढोका पछाडि तीन घण्टाभन्दा बढी समय चलेको बैठक कुनै ठोस निष्कर्षमा नपुगेर समाप्त भएको छ। पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले वार्तालाई रचनात्मक र स्पष्ट बताएका छन्। तर उनले कुनै विशेष सहमति वा उपलब्धिबारे जानकारी दिएनन्। विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी कीभ जाने अपेक्षा गरिएको छ।

दुवै पक्षले हवाई आक्रमण तीव्र बनाइरहेका बेला वार्ता भएको हो। पुटिनले तीन दिनसम्म कीभमा आक्रमण नगर्न आदेश दिएको क्रेमलिनले जनाएको छ। त्यसको जवाफमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि सोमबारसम्म मस्कोमा आक्रमण रोक्न तयार रहेको बताएका छन्।

‘अहिलेदेखि शनिबारको अन्त्यसम्म तथा आइतबार र सोमबार युक्रेन मस्कोमा आक्रमण नगर्न तयार छ। हामी रूसी पक्षले पनि कीभका हकमा त्यस्तै गर्ने अपेक्षा गर्छौं,’ जेलेन्स्कीले भने।

मस्को वार्तापछि उशाकोभले युक्रेन युद्धको अवस्थासँगै आर्थिक मुद्दा र रूस तथा अमेरिकाबिच सम्भावित संयुक्त परियोजनाबारे पनि छलफल भएको बताएका छन्। ‘दुवै पक्षलाई लाभ हुने ठुला संयुक्त परियोजनाबारे विस्तृत छलफल भयो,’ उनले भने।

शान्ति वार्ता चलिरहे पनि रूस र युक्रेनबिच हवाई आक्रमण भने जारी छ। रूसले कीभसहित विभिन्न युक्रेनी सहरमा ड्रोन र क्षेप्यास्त्र आक्रमण तीव्र बनाएको छ भने युक्रेनले पनि रूसी सैन्य संरचना, तेल प्रशोधन केन्द्र र अन्य रणनीतिक स्थानमा लामो दूरीका ड्रोन आक्रमण गरिरहेको छ।

शनिबार युक्रेनको दक्षिणी निप्रोपेट्रोभस्क क्षेत्रमा रूसी आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। खार्किभ क्षेत्रको चुहुइभमा एउटा घरमा ड्रोन प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ। कीभ क्षेत्रको बुचा जिल्लामा पनि रूसी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

युक्रेनको वायुसेनाका अनुसार रूसले रातारात १६७ वटा आक्रमणकारी ड्रोन प्रयोग गरेको थियो, जसमध्ये १२८ वटा ड्रोन खसालिएको वा निष्क्रिय पारिएको छ। यता रूसको रक्षा मन्त्रालयले आफ्नो सेनाले रातारात ५३ वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ।

युक्रेनसँग सीमा जोडिएको रूसको बेल्गोरोड क्षेत्रमा भएको युक्रेनी आक्रमणमा दुई जनाको मृत्यु र तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। शान्ति वार्ताका प्रयास भइरहे पनि दुवै देशबिचको हवाई युद्ध र आक्रमण भने अझै जारी छ। एजेन्सी

प्रकाशित: २१ भाद्र २०८३ ०७:४३ आइतबार