अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा इरानबाट आएको गम्भीर सुरक्षा खतराका कारण गोप्य रूपमा विमान परिवर्तन गरिएको घटनालाई औपचारिक रूपमा पुष्टि गरेका छन्।
उनले गोप्य सेवा (सीक्रेट सर्भिस) र अमेरिकी सेनाको कडा सुरक्षा आग्रहमा आफ्नो ज्यान बचाउनका लागि यो असामान्य र गुप्त कदम चालिएको बताएका हुन्।
विमान साटासाटको त्यो गोप्य रणनीति र छलकपट अन्तर्गत सार्वजनिक भएका विभिन्न मिडिया रिपोर्ट र अधिकारीहरूको भनाइ अनुसार गत जुलाई ८ मा अंकारा विमानस्थलमा क्यामेराको अगाडि ट्रम्प भव्य रूपमा मुख्य (पुरानो) एयर फोर्स वनमा चढेका थिए। तर, उनी विमानमा प्रवेश गरेलगत्तै गोप्य रूपमा ओरालिएको थियो।
त्यसपछि उनलाई विमानस्थलको एउटा खानपान कन्टेनर (क्याटरिङ ट्रक) को सहायताले कसैले थापा नपाउने गरी सुरक्षित रूपमा सानो सी-३२ए सैन्य विमानतर्फ सारिएको थियो। अर्कोतर्फ, राष्ट्रपति ट्रम्प नभएको खाली एयर फोर्स वनलाई भने इरानी पक्षलाई झुक्याउन आकाशमा उडाइएको थियो।
उक्त मुख्य विमानमा ह्वाइट हाउसका केही कर्मचारी र विभिन्न सञ्चार माध्यमका पत्रकारहरू पनि सवार थिए। तर, उनीहरूलाई राष्ट्रपति आफ्नो विमानमा नरहेको विषयमा पूर्ण रूपमा अनविज्ञ राखिएको थियो। उडानका क्रममा उनीहरूलाई झ्यालको पर्दा पूर्ण रूपमा बन्द राख्न कडा आदेश दिइएको थियो। एक मिडिया निर्माताका अनुसार झ्यालको पर्दा बन्द गर्न लगाइएको विषय निकै असामान्य लागे पनि उनीहरूलाई वास्तविकता थाहा दिइएको थिएन। यसले उनीहरूको यात्रालाई थप रहस्यमय बनाएको थियो।
यो पनि पढ्नुहोस्
इरानको डरका कारण यात्राका बिचमा ट्रम्पले ‘गोप्य विमान’ परिवर्तन गरेको खुलासा
यस गोप्य रणनीतिका बारेमा कुरा गर्दै ट्रम्पले यस विषयमा आफूसँग थोरै मात्र विकल्प बाँकी भएको दाबी गरेका छन्। ‘म गोप्य सेवा र सेनाको पक्षमा छु। उनीहरू मलाई फरक उडान र फरक विमानमा लैजान चाहन्थे,’ ट्रम्पले पत्रकारहरूसँग भने, ‘मैले उनीहरूले भनेको मान्नुपर्छ। मलाई लाग्छ त्यहाँ बाहिर खतरा थियो। मैले यसको बारेमा धेरै सोधिनँ, किनकि मलाई यस्ता धेरै धम्कीहरू आउँछन्।’
तर उनले यो सुरक्षा कारबाहीले आफूलाई कुनै डर नलागेको र जोखिमबारे खासै चिन्ता नलिएको प्रस्ट्याए। ‘मलाई लाग्छ मैले उडाएको विमान वास्तवमा बढी जोखिममा थियो,’ ट्रम्पले थपे, ‘मलाई कुनै पनि कुराको चिन्ता छैन, इमानदारीपूर्वक भन्दा जे भए पनि। तपाईंलाई मेरो मनसाय थाहा छ, जे भए पनि!’
इरानको खतरा र सुरक्षा चिन्ताका विषयमा अधिकारीहरूले दिएको जानकारी अनुसार अमेरिकाले विमानमाथि मिसाइल प्रहार हुन सक्ने किसिमको विश्वसनीय इरानी (वा यसका प्रोक्सी) खतरा पत्ता लगाएपछि यो उच्च सतर्कता अपनाइएको थियो।
टर्कीमा भएको शिखर सम्मेलनमा आफू इरानको ‘नम्बर एक लक्ष्य’ भएको महसुस गरेको ट्रम्पले अघि नै बताएका थिए। टर्कीबाट उडेको सानो सैन्य विमान बेलायतको आरएएफ मिल्डेनहलमा अवतरण गरेपछि ट्रम्प पुन: मुख्य एयर फोर्स वनमा फर्किएर सुरक्षित रूपमा वासिङ्टन पुगेका थिए।
यद्यपि, यो गोप्य योजनाका कारण राष्ट्रपतिलाई कभर गरिरहेका पत्रकार र सहयोगी कर्मचारीहरूलाई कुनै पनि पूर्वजानकारी बिना अनावश्यक रूपमा ठूलो जोखिममा पारिएको भन्दै विभिन्न क्षेत्रबाट चासो र आलोचना गरिएको छ। एजेन्सी
प्रकाशित: २७ श्रावण २०८३ १०:०२ बुधबार