अन्तर्राष्ट्रिय

अमेरिकाले २० अर्ब डलरको सामानमा ५० प्रतिशत कर लगाएपछि क्यानडाले के भन्यो ?

फाइल तस्बिर

अमेरिका र क्यानडाबिचको व्यापार सम्झौता असफल भएपछि अमेरिकाले शनिबारदेखि करिब २० अर्ब डलर बराबरका क्यानेडियन सामानहरूमा ५० प्रतिशत कर लागू गरेको छ। 

यो कदमसँगै दुई देशबिचको लामो समयदेखिको ऐतिहासिक र घनिष्ठ सम्बन्धमा ठुलो धक्का पुगेको छ। व्यापार वार्ता अन्तिम समयमा आएर अप्रत्याशित रूपमा बिग्रिएको हो। दुवै पक्षले एकअर्कालाई वार्ताका दिनहरू बर्बाद गरेको र सहमति भंग गरेको आरोप लगाएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले क्यानडाले यस हप्ताको सुरुमा आपसी सहमति भएका सर्तहरूअनुसार व्यापार सम्झौतालाई अन्तिम रूप दिन अस्वीकार गरेको बताए। ग्रीरका अनुसार योसँगै क्यानडाले अमेरिकासँग साझेदारी गर्ने र आफ्नो अर्थतन्त्र बलियो बनाउने ठुलो अवसर गुमाएको छ। ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले पनि अमेरिकी प्रस्तावले क्यानडालाई उच्च प्राथमिकतामा राख्ने भए पनि क्यानडाले स्टिल, आल्मुनियम, अटोमोबाइल र काठमा थप रियायत खोजेका कारण कुरा नमिलेको स्पष्ट पारेका छन्।

उता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको व्यापार वार्ता पूर्ण रूपमा स्थगित गरिएको घोषणा गरेका छन्। उनले अमेरिकाले लगाएको नयाँ करको कडा प्रतिवाद गर्दै क्यानडाले 'डलरको हिसाबले डलर नै' तिर्नेगरी जवाफ दिने चेतावनी दिएका छन्।

कार्नीले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले प्रस्ताव गरेका सर्तहरूमा अन्तिम समयमा गरिएको परिवर्तन पूर्ण रूपमा अनुचित र आर्थिक रूपमा हानिकारक रहेको बताए। उनले भने, 'मैले अमेरिकासँगको व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको छु र क्यानडाका वार्ताकारहरूलाई ओटावा फर्कन निर्देशन दिएको छु।' साथै, उनले आफ्ना कामदार र व्यवसायलाई बचाउन सरकारले छिट्टै थप राहत प्याकेज ल्याउने प्रतिज्ञा पनि गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन आयातमा व्यापक रूपमा कर लगाउने धम्की दिएअनुसार यो निर्णय कार्यान्वयनमा आएको हो। यस करले काठ, स्टिल, अटोमोबाइल, मदिरा, फर्निचर र विभिन्न उपभोग्य वस्तुहरूलाई सीधा असर गर्नेछ।

विश्लेषकहरूका अनुसार यसले दुई देशको आर्थिक सहकार्यलाई मात्र होइन, आगामी दिनमा उत्तर अमेरिकी व्यापार सम्झौता (युएसएमसीए) को भविष्यमाथि समेत गम्भीर प्रश्न उठाएको छ। १९३० को ट्यारिफ ऐनको प्रयोग गरेर लगाइएको यो ५० प्रतिशत करले दुई छिमेकीबिच व्यापारिक युद्धको जोखिम बढाएको छ।

अमेरिका-क्यानडा सीमा विश्वकै सबैभन्दा शान्त, खुला र ठुलो व्यापारिक मार्ग मानिन्छ, जहाँबाट हरेक दिन अर्बौं डलरका सामान र लाखौँ मानिस आवतजावत गर्छन्। तर पछिल्लो राजनीतिक र आर्थिक तिक्तताले यी दुई छिमेकी राष्ट्रहरूबिचको सम्बन्ध केही दशकयताकै सबैभन्दा कठिन मोडमा पुगेको संकेत गर्छ। क्यानेडियन जनता र व्यापारिक संघसंस्थाले पनि ट्रम्पको यस कदमको कडा विरोध गरेका छन्। एजेन्सी

प्रकाशित: ६ भाद्र २०८३ १४:१६ शनिबार