अन्तर्राष्ट्रिय

तेलको अभाव भए प्रतिलिटर हजार रुपैयाँमा पनि पाउन गाह्रो हुने चेतावनी

मध्यपूर्वमा जारी तनावका कारण विश्व बजारमा इन्धनको मूल्य बढिरहेको छ।

यमनका हुथी विद्रोहीहरूको बढ्दो गतिविधि र साउदी अरेबियाका तेल केन्द्रमा भएका आक्रमणका कारण तेल आयात गर्न झनै कठिन भएको छ। यसबाट पाकिस्तान पनि प्रभावित हुँदा तेल आपूर्तिमा समस्या भइरहेको छ।

यसबिच पाकिस्तानका पेट्रोलियम मन्त्री अली परवेज मलिकले तेलको अभाव भएमा प्रतिलिटर एक हजार पाकिस्तानी रुपैयाँमा पनि तेल पाउन गाह्रो हुन सक्ने चेतावनी दिएका छन्।

आइतबार लाहोरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यदि देशमा तेलको अभाव भयो भने प्रतिलिटर एक हजार रुपैयाँमा पनि तेल पाउन गाह्रो हुन सक्छ।’

मलिकले अहिलेको द्वन्द्व कहिले समाप्त हुन्छ भन्ने स्पष्ट नभएको बताए। उनका अनुसार द्वन्द्वका कारण विश्वभर तेलको मूल्य ८० प्रतिशतले बढेको छ भने पाकिस्तानमा करिब ५० प्रतिशतले वृद्धि भएको छ।

उनले तेलको आपूर्ति सुनिश्चित गर्न सरकारले सबै स्रोतबाट आवश्यक कदम चालिरहेको बताए। तेलको उपलब्धतामा बाधा पुर्‍याउने कुनै निर्णय नगर्ने पनि उनले उल्लेख गरे। मलिकले समुद्रमुनि तेल खोजी गर्न अक्टोबरमा टर्कीको जहाज पाकिस्तान आउने जानकारी पनि दिए।

उनका अनुसार इरानसँगको निकट सम्बन्धका कारण केही समय पाकिस्तानी झण्डा भएका जहाजलाई होर्मुज जलमार्गबाट आवतजावत गर्न अनुमति दिइएको थियो। तर जोखिमलाई ध्यानमा राख्दै पाकिस्तानले तेल आयातका लागि वैकल्पिक मार्ग रोजेको छ।

अहिले पाकिस्तानमा पेट्रोलको मूल्य प्रतिलिटर ३८९.१४ पाकिस्तानी रुपैयाँ रहेको छ। पेट्रोलसँगै हाई-सिटेन डिजेलको मूल्य प्रतिलिटर ४२४.०४ पाकिस्तानी रुपैयाँ, लाइट डिजेलको ३०४.७८ पाकिस्तानी रुपैयाँ र मट्टितेलको मूल्य प्रतिलिटर ३४७.३२ पाकिस्तानी रुपैयाँ तोकिएको छ।

प्रकाशित: ५ आश्विन २०८३ ११:५२ सोमबार