अन्तर्राष्ट्रिय

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलमार्ग पुनःखोल्ने तेहरानको प्रस्तावबारे अमेरिकाबाट मंगलबार औपचारिक जवाफ प्राप्त हुने अपेक्षा गरिएको बताएका छन्।

उनका अनुसार कतारी मध्यस्थकर्ताले इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल गरिरहेका छन् र अमेरिकी पक्षसँग पुनः कुरा गरेपछि अन्तिम जवाफ इरानलाई पठाइनेछ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्ताले प्रस्तुत गरेका विषयमा छलफल भएको बताए।

‘उहाँहरूले केही विचार प्रस्तुत गर्नुभयो र हामीले त्यसबारे छलफल गर्‍यौँ। उहाँहरूले अमेरिकी पक्षसँग फेरि कुरा गर्ने तयारी गर्नुभएको छ र त्यसपछि अन्तिम अमेरिकी प्रतिक्रिया हामीलाई पठाइनेछ’, उनले सरकारी सञ्चारमाध्यमलाई भने।

कतारी मध्यस्थकर्ताहरूले मंगलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको उनले बताए। अहिलेको मुख्य ध्यान हर्मुज जलमार्गमा रहेको उल्लेख गर्दै उनले मार्ग पुनःखोल्न इरानले राखेका केही सर्त पूरा हुनुपर्ने बताए।

हर्मुज जलमार्ग अमेरिका र इरानबीच जारी द्वन्द्वको केन्द्रमा रहेको छ। फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि द्वन्द्व सुरु भएको हो।

युद्ध सुरु हुनुअघि विश्वको तेल र तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो।

द्वन्द्व सुरु भएपछि इरानले हर्मुजमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएर प्रतिक्रिया जनाएको छ।

यही अवस्थाबीच गत साता न्युयोर्कमा अराघची र अमेरिकी दूत स्टिभ विटकफ तथा जारेड कुशनरबीच छलफल भएको थियो।

इरानले अमेरिकी नाकाबन्दी अन्त्य गर्नुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ। लेबनानमा इरानको सहयोगी हिजबुल्लाह इजरायली सेनासँग लडिरहेको छ।

इरानले विदेशमा रहेका आफ्ना रोक्का सम्पत्ति फुकुवा गर्न, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउन तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने मागसमेत राखेको छ।

प्रकाशित: १३ आश्विन २०८३ १३:०४ मंगलबार