अन्तर्राष्ट्रिय

पत्नी उषामाथिको धार्मिक टिप्पणीले विवादमा उपराष्ट्रपति भान्स, एरिकासँगको तस्बिर भाइरल

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नी हिन्दु पत्नी उषाले इसाई धर्म अपनाउने आशा व्यक्त गरेपछि आलोचना खेपेका छन्। यसैबिच चार्ली कर्ककी विधवा एरिका कर्कसँग अँगालो हालेको तस्बिर भाइरल बनेको छ।

अक्टोबर २९ मा मिसिसिपी विश्वविद्यालयमा भएको कार्यक्रममा एरिकाले भान्सको परिचय गर्दै भनिन्, ‘मेरो श्रीमानको ठाउँ कसैले पनि लिने छैन। तर म जेडीमा मेरो श्रीमानको केही समानताहरू देख्छु–उपराष्ट्रपति जेडी भान्समा। म देख्छु। र त्यसैले म आज राती उहाँलाई परिचय गराउन पाउँदा धेरै भाग्यमानी छु।’ स्टेजमा आउँदा दुवैले आत्मीय अँगालो हाले। एरिकाले भान्सको टाउकोमा हात राखेको दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

न्यूयोर्क टाइम्सकी लेखिका श्यानन वाट्सले दाबी गरिन्, ‘भान्सले सम्बन्धविच्छेदको घोषणा गर्छन्, २०२६ को अन्त्यसम्ममा चार्ली कर्ककी विधवासँग विवाह गर्छन्।’ एक्समा यो पोस्ट ९० लाखभन्दा बढी हेरिएको छ। धेरैले भान्सले उषासँग सम्बन्धविच्छेद गरेर एरिकासँग नयाँ सम्बन्ध बनाउन सक्ने अडकल लगाइरहेका छन्।

विवादको सुरुवात भान्सले सार्वजनिक कार्यक्रममा उषाले इसाई धर्म अपनाउने ‘आशा’ गरेको बताएपछि भएको हो। रिपब्लिकन पार्टीका कट्टर समर्थकहरूले इसाई धर्मलाई अन्य धर्मभन्दा माथि राख्ने गरेका छन्। उषाको हिन्दु धर्मलाई लिएर भान्सको टिप्पणीलाई धेरैले नकारात्मक रूपमा लिएका छन्। कतिपयले उनले मतदातालाई खुसी पार्न परिवारको भावनालाई बेवास्ता गरेको आरोप लगाएका छन्। त्यसैले सम्बन्धविच्छेदको हल्ला फैलिएको हो। कतिले उषा हिन्दु हुनु सन् २०२८ को राष्ट्रपति चुनावमा बाधा बन्न सक्ने टिप्पणी पनि गरेका छन्।

तर भान्सले यस्ता टिप्पणीहरूलाई ‘घृणित’ भन्दै खारेज गरेका छन्। उनले भने, ‘पहिले प्रश्न मेरो बायाँपट्टि देखिने व्यक्तिबाट मेरो अन्तर धार्मिक विवाहको बारेमा थियो। म एक सार्वजनिक व्यक्तित्व हुँ। मानिसहरू उत्सुक छन्, र म प्रश्नबाट बच्न सक्दिनँ।’ उनले उषाको धर्म परिवर्तनको कुनै योजना नभएको पनि स्पष्ट पारेका छन्। ४१ वर्षीय भान्सले सन् २०१४ मा उषासँग विवाह गरेका थिए। उनीहरूका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन्। एजेन्सी

प्रकाशित: १५ कार्तिक २०८२ १३:०६ शनिबार