अन्तर्राष्ट्रिय

अमेरिकी युद्धपोतले घेरेपछि भेनेजुएलाले ५६ सय सैनिक थप्यो

फाइल तस्बिर

अमेरिकाले क्यारिबियन क्षेत्रमा युद्धपोत र विमानवाहक जहाज तैनाथ गरेपछि भेनेजुएलाको सरकारले शनिबार ५६ सय सैनिकलाई शपथ दिलाएर सैन्य शक्ति बढाएको छ। लागुऔषध तस्करीविरुद्ध कारबाहीको नाममा अमेरिकी सेनाले २० भन्दा बढी जहाजमा आक्रमण गरेको दाबी छ, जसमा कम्तीमा ८३ जनाको मृत्यु भएको भेनेजुएलाले बताएको छ।

वासिङ्टनले राष्ट्रपति निकोलस मदुरोमाथि ‘कार्टेल अफ द सन’ समूहको नेतृत्व गरेको आरोप लगाएर यसलाई आतंकवादी संगठन घोषित गरेको थियो। मदुरोले अमेरिकी उपस्थितिको उद्देश्य आफूलाई सत्ताबाट हटाउनु र तेल भण्डार कब्जा गर्नु रहेको आरोप दोहोर्‍याए।

काराकासको फुएर्टे टियुनामा समारोहमा कर्नेल ग्याब्रियल रेन्डोनले नयाँ सैनिकहरूलाई सम्बोधन गर्दै भने, ‘हामी कुनै पनि परिस्थितिमा साम्राज्यवादी शक्तिद्वारा आक्रमण हुन दिनेछैनौँ’। आधिकारिक तथ्यांकअनुसार भेनेजुएलामा करिब दुई लाख सैनिक र दुई लाख प्रहरी तैनाथ छन्।

यसैबिच, आतंकवाद र दंगा उक्साएको आरोपमा पक्राउ परेका पूर्व विपक्षी गभर्नर अल्फ्रेडो डियाज शनिबार जेलमै मृत्यु भएको जनाइएको छ। फोरो पेनाल एनजिओलेका अनुसार डियाज सन् २०२४ नोभेम्बरपछि जेलमा मृत्यु हुने छैटौँ विपक्षी व्यक्ति बनेका छन्।

गत जुलाईको विवादित निर्वाचनपछि विरोध प्रदर्शनमा २८ जनाको मृत्यु भएको थियो भने करिब २४ सय जना पक्राउ परेका थिए। त्यसपछि दुई हजारलाई रिहा गरिएको थियो। 

फोरो पेनालका निर्देशक अल्फ्रेडो रोमेरोका अनुसार डियाजलाई एक वर्षसम्म एकान्तमा राखिएको थियो। उनकी छोरीलाई मात्र एक पटक भेट्न दिइएको थियो। समूहका अनुसार भेनेजुएलामा कम्तीमा ८८७ राजनीतिक बन्दी छन्। एजेन्सी

प्रकाशित: २१ मंसिर २०८२ १३:२९ आइतबार