अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आगामी चुनावमा समर्थन गरेको एक दिनपछि उपराष्ट्रपति जेडी भान्सले भने समर्थन गर्न अस्वीकार गरेका छन्।
भान्सले आफू अमेरिकी मध्यावधि चुनावमा केन्द्रित रहेको भन्दै इजरायली चुनावमा संलग्न नहुने बताएका हुन्।
पत्रकार मार्क हाल्पेरिनसँगको अन्तर्वार्तामा उनले अमेरिकी उम्मेदवारहरूलाई समर्थन गर्नु आफ्नो प्राथमिकता भएको बताए। उनले भने, ‘म अमेरिकी उम्मेदवारहरूलाई समर्थन गर्छु र अहिले मध्यावधि चुनावमा केन्द्रित छु। त्यसैले म इजरायली चुनावमा संलग्न भइरहेको छैन।’
भान्सको यो भनाइ ट्रम्पले नेतान्याहूलाई खुलेर समर्थन गरेको भोलिपल्ट आएको हो। ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत नेतान्याहूलाई इरानसँगको संघर्षमा ‘महान् योद्धा प्रधानमन्त्री’ र शान्तिका लागि महत्त्वपूर्ण साझेदार भन्दै प्रशंसा गरेका थिए। उनले नेतान्याहूको नेतृत्वको समर्थन गर्दै इजरायल र अमेरिकाबिचको सहकार्यलाई पनि जोड दिएका थिए।
नेतान्याहूले ट्रम्पको समर्थनप्रति आभार व्यक्त गरेका छन्। उनले ट्रम्पसँगको निकट सम्बन्धलाई आफ्नो नेतृत्व र सुरक्षा नीतिको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै आएका छन्। इरानसँगको संघर्ष र मध्यपूर्वको सुरक्षा अवस्थालाई नेतान्याहूले चुनावी अभियानमा महत्त्वपूर्ण मुद्दाका रूपमा उठाउँदै आएका छन्।
इजरायलमा अक्टोबर २७ मा राष्ट्रिय चुनाव हुँदैछ। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हुन लागेको यो पहिलो चुनाव हो। नेतान्याहूले सुरक्षा चुनौती र युद्धको अवस्थाबिच आफ्नो नेतृत्वको बचाउ गर्दै आएका छन्। तर युद्धको परिणाम, युद्धविरामका प्रयास र सरकारको नीतिलाई लिएर इजरायलभित्र मतभेद कायम छ।
ट्रम्प र नेतान्याहू लामो समयदेखि निकट सहयोगी मानिन्छन्। तर इरानसँगको युद्ध र मध्यपूर्वमा शान्ति स्थापना गर्ने उपायबारे उनीहरूबिच मतभेद पनि देखिएको छ। ट्रम्पले इरानसँगको तनाव अन्त्य गर्ने प्रयास अघि बढाउँदा इजरायली सरकारका केही निर्णयप्रति असन्तुष्टि जनाएका थिए। अर्कोतर्फ, नेतान्याहू सरकारले आफ्नो सुरक्षा चासोमा सम्झौता गर्न नहुने धारणा राख्दै आएको छ।
भान्सले यसअघि पनि इजरायली सरकारका केही सदस्यको आलोचना गरेका थिए। उनले इरानसँगको युद्ध लम्ब्याउन अमेरिकी जनमत प्रभावित पार्ने प्रयास भइरहेको आरोपसमेत लगाएका थिए। यस्तो पृष्ठभूमिमा ट्रम्पले नेतान्याहूलाई समर्थन गर्दा भान्सले इजरायली चुनावबाट आफूलाई अलग राख्ने स्पष्ट सन्देश दिएका छन्।
प्रकाशित: ३ कार्तिक २०८३ १०:१० मंगलबार