अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा अगाडि पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरेको छ।
नासाका अनुसार ‘भान एलेन प्रोब-ए’ नामक अन्तरिक्षयान बुधबार बिहान ६ बजेर ३७ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो। यो अन्तरिक्षयान सन् २०१२ को अगस्टमा प्रक्षेपण गरिएको थियो र करिब १४ वर्षपछि वायुमण्डलमा फर्किएको हो।
उक्त अन्तरिक्षयानलाई यसको जुम्ल्याहा अन्तरिक्षयान ‘भान एलेन प्रोब-बी’ सँगै पृथ्वी वरिपरि रहेको भान एलेन विकिरण घेराको अध्ययन गर्न पठाइएको थियो।
अमेरिकी अन्तरिक्ष बलका अनुसार ‘भान एलेन प्रोब-ए’ प्रशान्त महासागरको पूर्वी भागमाथि वायुमण्डलमा पुनःप्रवेश गरेको हो। पृथ्वीको वायुमण्डल हुँदै प्रवेश गर्दा अन्तरिक्षयानको अधिकांश भाग जलेर नष्ट भएको अनुमान गरिएको छ, यद्यपि केही भाग बाँकी रहन सक्ने सम्भावना पनि रहेको नासाले जनाएको छ।
यी अन्तरिक्षयानहरूले सन् २०१२ देखि २०१९ सम्म सक्रिय रूपमा काम गर्दै पृथ्वीको विकिरण घेरासम्बन्धी अभूतपूर्व तथ्यांक सङ्कलन गरेका थिए। यस अभियानका क्रममा वैज्ञानिकहरूले तीव्र सौर्य गतिविधिका बेला अस्थायी रूपमा तेस्रो विकिरण घेरा बन्न सक्ने नयाँ तथ्यसमेत पत्ता लगाएका थिए।
सन् २०१९ मा दुवै अन्तरिक्षयानको इन्धन समाप्त भएपछि अभियान समाप्त गरिएको थियो। त्यस बेला वैज्ञानिकहरूले ती अन्तरिक्षयान सन् २०३४ तिर पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने अनुमान गरेका थिए। तर हालको सौर्य चक्रमा अपेक्षाभन्दा बढी सौर्य गतिविधि भएका कारण वायुमण्डलीय घर्षण बढ्यो र अन्तरिक्षयानको कक्षा चाँडै घट्दै जाँदा यो अपेक्षाभन्दा पहिले नै पृथ्वीमा फर्किएको हो।
नासाका अनुसार यस अभियानबाट सङ्कलित तथ्याङ्कले अन्तरिक्ष मौसम र त्यसले उपग्रह, अन्तरिक्ष यात्री तथा पृथ्वीका सञ्चार, नेभिगेसन र विद्युत् प्रणालीमा पार्ने प्रभावबारे बुझ्न अझ सहयोग पुर्याइरहेको छ।
नासाले ‘भान एलेन प्रोब-बी’ भने सन् २०३० भन्दा पहिले पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश नगर्ने अनुमान गरिएको जनाएको छ।सिन्ह्वा
प्रकाशित: २९ फाल्गुन २०८२ १५:२६ शुक्रबार