अन्तर्राष्ट्रिय

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ।

कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो।

अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ। यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय–समयमा देखिँदै आएको छ।

बजार विश्लेषकहरूका अनुसार सेयरको मूल्य अत्यधिक बढेर वास्तविक आर्थिक अवस्थाभन्दा माथि पुगेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ।

लगानीकर्तामा अत्यधिक उत्साहका कारण सेयरको मूल्य अस्वाभाविक रूपमा बढेमा बजार सुधारले त्यसलाई यथार्थपरक स्तरमा ल्याउन भूमिका खेल्न सक्छ।

तर बजारमा आएको यस्तो गिरावटले तत्काल लगानीकर्तामा चिन्ता र अनिश्चितता बढाउने गरेको छ।

विशेषगरी बजार सुधारपछि थप ठूलो गिरावट आउने अर्थात् ‘बियर मार्केट’ सुरु हुने हो कि भन्ने आशङ्का लगानीकर्तामा रहने गर्छ।

वाल स्ट्रिटको परिभाषाअनुसार कुनै सेयर बजार सूचकाङ्क आफ्नो हालसम्मको उच्चतम बिन्दुबाट कम्तीमा २० प्रतिशतले घटेमा त्यसलाई ‘बियर मार्केट’ भनिन्छ।

यस्तो अवस्थालाई बजारमा गहिरो गिरावट वा मन्दीको सङ्केतका रूपमा लिइन्छ।

पछिल्लो गिरावटले एआई उद्योगको तीव्र विस्तार, यस क्षेत्रमा देखिएका चुनौती तथा प्रविधि कम्पनीहरूको भविष्यप्रति लगानीकर्ताको विश्वासबारे बहस बढाएको छ।

यद्यपि, १० प्रतिशतको गिरावट आफैँमा बजार मन्दी सुरु भएको प्रमाण भने होइन। 

प्रकाशित: ६ मंसिर २०८३ ११:३५ आइतबार