अन्तर्राष्ट्रिय

अमेरिकाले नेटो सदस्यताको बदलामा डोनबास छाड्ने प्रस्ताव गर्‍यो : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटो सदस्यता उपलब्ध गराउने बदलामा युक्रेनलाई पूर्वी डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउन अमेरिकी वार्ताकारहरूले प्रस्ताव गरेको खुलासा गरेका छन्।

जेलेन्स्कीका अनुसार अमेरिकी पक्षले युक्रेन नेटोमा सामेल भए डोनबासबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको थियो।

उनले शनिबार आफ्नो कार्यालयमार्फत सार्वजनिक गरेको टिप्पणीमा यस्तो प्रस्ताव पहिलोपटक उठाइएको बताएका हुन्।

अमेरिकाले भने उक्त प्रस्तावको पुष्टि गरेको छैन। शान्ति सम्झौताका विभिन्न विकल्पबारे छलफल जारी रहेको र कुनै पनि अन्तिम सम्झौतामा दुवै पक्षको सहमति आवश्यक हुने बताइएको छ।

युक्रेन र रुसबीच युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासका क्रममा पछिल्लो घटनाक्रम सार्वजनिक भएको हो।

अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि जेलेन्स्कीलाई भेट्न आयरल्यान्डको राजधानी डब्लिन पुगेका थिए।

युक्रेनले लामो समयदेखि नेटो सदस्यताको माग गर्दै आएको छ। तर अमेरिका तथा केही अन्य सदस्य राष्ट्रहरू यस विषयमा सतर्क रहँदै आएका छन्।

रुसले भने आफ्नो सीमासँग जोडिएको अर्को नेटो सदस्य राष्ट्र स्वीकार्य नहुने बताउँदै आएको छ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो। अहिले रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा लिएको छ, जसमा डोनेट्स्क र लुहान्स्क क्षेत्रका अधिकांश भाग समावेश छन्।

जेलेन्स्कीले युक्रेनले आफ्नो सार्वभौम भूभाग त्याग्न नसक्ने अडान दोहोर्‍याउँदै आएका छन्। तर, उनले सुरक्षा प्रत्याभूति, युक्रेनी सेनामाथि कुनै प्रतिबन्ध नलगाइने व्यवस्था र देशको पुनर्निर्माणका लागि आर्थिक सहयोगसहितको ठोस प्रस्ताव आए त्यसलाई जनमत संग्रहमा लैजान सकिने बताएका छन्।

उनका अनुसार डोनबासबाट सेना फिर्ता गर्ने विषय युरोपेली सुरक्षासम्बन्धी कठिन छलफलको हिस्सा बनेको छ र यो मुद्दा पुनः वार्ताको कार्यसूचीमा आएको छ।

युक्रेनले रुसको महत्वाकांक्षा डोनबासमा मात्र सीमित नरहेको विश्वास गर्दै आएको छ। त्यसैले भविष्यमा हुने रुसी आक्रमण रोक्न नेटो सदस्यतालाई महत्वपूर्ण सुरक्षा उपायका रूपमा हेर्दै आएको छ।

यसैबीच, रुसी पक्षले युद्धविरामअघि अन्तिम शान्ति सम्झौता हुनुपर्ने अडान दोहोर्‍याएको छ।

मस्कोले सम्झौतामा युक्रेनले रुसले कब्जा नगरेका डोनबासका बाँकी क्षेत्रसमेत छाड्नुपर्ने र सन् २०१४ मा कब्जा गरिएको क्रिमियामाथि रुसी नियन्त्रण स्वीकार गर्नुपर्ने माग गर्दै आएको छ।

अमेरिकी वार्ताकारहरूले युक्रेनको क्षेत्रीय ‘रेड लाइन’ पत्ता लगाउने प्रयास गरिरहेको हुन सक्ने विश्लेषण गरिएको छ।

जेलेन्स्कीले यसअघि अमेरिकी मध्यस्थकर्ताहरूले शान्तिका लागि युक्रेनले भूभाग त्याग्नुपर्ने विश्वास राखेको र शीघ्र सम्झौताका लागि दबाब दिएको बताएका थिए।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच पछिल्लो समय सम्बन्धमा तनाव देखिएको थियो। ट्रम्पले युक्रेनलाई नयाँ राष्ट्रपति चुन्न चुनाव गर्नुपर्ने बताएका थिए।

युक्रेनमा मार्शल ल लागू भएकाले चुनाव स्थगित गरिएको छ। यद्यपि, जेलेन्स्कीले शान्ति सम्झौता भएको केही महिनाभित्र चुनाव गराउन आफू तयार रहेको बताउँदै आएका छन्।

नेटो सदस्यताको बदलामा राष्ट्रपति पद त्याग्न सक्ने संकेतसमेत उनले यसअघि दिएका थिए।

प्रकाशित: २९ कार्तिक २०८३ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App