अन्तर्राष्ट्रिय

ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी नौसेनाका कमाण्डोले उत्तर कोरियाली नागरिकलाई मारेको दाबी

एक प्रमुख अमेरिकी समाचार आउटलेटले रिपोर्ट अनुसार सन् २०१९ मा अमेरिकी नौसेनाका समूहहरूले उत्तर कोरियामा एउटा गोप्य मिसनका क्रममा धेरै उत्तर कोरियाली नागरिकहरूको हत्या र यो मिसन तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेको बताइएको छ।

न्युयोर्क टाइम्सले शुक्रबार छापेको रिपोर्टअनुसार सन् २०१९ को सुरुमा वाशिंगटन र प्योङयाङबीचको कूटनीतिक वार्ता चलिरहेका बेला अमेरिकी नौसेनाको समूह ६ ले यो मिसन चलाएको थियो। यस एलिट स्पेशल फोर्स युनिटलाई उत्तर कोरियाको तटमा गोप्य रूपमा गएर त्यहाँको नेतृत्वमाथि जासुसी गर्नका लागि सुन्ने उपकरण जडान गर्ने जिम्मेवारी समेत दिइएको थियो।

रातको अन्धकारसँगै सञ्चारको कमीका कारण मिसनमा गल्तीहरूको श्रृंखला सुरु भएको रिपोर्टमा उल्लेख छ। टाइम्सको रिपोर्ट अनुसार समूहहरूले गोली चलाउँदा सानो माछा मार्ने डुङ्गामा रहेका सबैको मृत्यु भएको तर मृतकको संख्या उल्लेख गरिएको छैन ।

मिसनसँग परिचित अधिकारीहरूले टाइम्सलाई बताएअनुसार अमेरिकी सैनिकहरूले 'शवहरूलाई लुकाउन पानीमा फालेका थिए।'

स्रोतहरूका अनुसार ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यो अभियानलाई अन्तिम स्वीकृति दिएका थिए। यद्यपि, शुक्रबार रिपोर्टबारे पत्रकारहरूले सोध्दा ट्रम्पले आफूलाई यस अपरेशनबारे कुनै जानकारी नभएको बताए।

यस घटनाका बारेमा उत्तर कोरियाले त्यति बेला कुनै सार्वजनिक बयान दिएको थिएन र टाइम्सको रिपोर्टमा पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। 

प्रकाशित: २१ भाद्र २०८२ १०:३६ शनिबार