अन्तर्राष्ट्रिय

इस्लामाबादमा अमेरिका-इरान वार्ता शनिबार सुरु हुने

मध्यपूर्व र विश्व अर्थतन्त्रको भविष्य दाउमा

पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार बिहान हुन लागेको अमेरिका र इरानबीचको ‘निर्णायक’ वार्ताले मध्यपूर्वका लाखौं मानिसको जीवन र विश्व अर्थतन्त्रको दिशालाई प्रत्यक्ष रूपमा प्रभावित गर्ने देखिएको छ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। उनीसँगै विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि सहभागी हुनेछन्। इरानले आधिकारिक रूपमा आफ्नो टोली सार्वजनिक नगरे पनि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल रहने बताइएको छ। हालैका अमेरिकी–इजरायली आक्रमणमा इरानका धेरै शीर्ष नेताहरू मारिएपछि घालिबाफ वार्ताका प्रमुख पात्र रहेका छन्।

दुई देशबीच युद्ध सुरु भएपछि पहिलोपटक प्रत्यक्ष संवाद हुन लागेको हो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अत्यन्त संवेदनशील र ऐतिहासिक अवसरका रूपमा हेरेको छ। वार्ताको तयारीस्वरूप इस्लामाबादमा दुई दिनको सार्वजनिक बिदा घोषणा गरिएको छ, जसले राजधानीका सडकहरू असामान्य रूपमा सुनसान बनाएको छ। अमेरिकी र इरानी प्रतिनिधिमण्डलको आगमनलाई मध्यनजर गर्दै शहरभर कडा सुरक्षा व्यवस्था लागू गरिएको छ।

मुख्य सडकहरूमा कन्टेनर राखेर अवरुद्ध गरिएको छ भने सुरक्षाकर्मीहरू हरेक चोकमा तैनाथ छन्। रेड जोन क्षेत्रमा प्रवेश पूर्ण रूपमा नियन्त्रण गरिएको छ। सामान्यतया व्यस्त रहने बजार, कार्यालय र शैक्षिक संस्था बन्द हुँदा शहरमा एक प्रकारको 'शान्त तर तनावपूर्ण' वातावरण देखिएको छ।

वार्ताको अजेन्डाः सहमति चुनौतीपूर्ण

वार्ताको मुख्य चुनौतीनै वार्ताक अजेन्डामा सहमति नहुनु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'इरानको १० बुँदे प्रस्ताव'लाई वार्ताको आधार भने पनि इरानले सार्वजनिक गरेको सूचीमा अमेरिकाले स्वीकार्न नसक्ने मागहरू समावेश छन्।

इरानका प्रमुख मागहरूमा हर्मुज जलमार्गमाथि नियन्त्रणको मान्यता, युद्ध क्षतिपूर्ति, सबै प्रतिबन्ध हटाउने र आणविक कार्यक्रमको अधिकार स्वीकार्नुपर्ने कुरा छन्। यता अमेरिकाले १५ बुँदे प्रस्ताव अघि सारेको छ, जसमा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता, उच्च समृद्ध युरेनियम हस्तान्तरण, रक्षा क्षमतामा सीमा र होर्मुज जलमार्ग पुनः खोल्ने जस्ता सर्तहरू छन्।

कमजोर युद्धविराम र लेबनान विवाद

वार्ताको आधार बनेको दुई साताको युद्धविराम अहिले कायम भए पनि अत्यन्त नाजुक अवस्थामा छ। विशेषगरी लेबनान यस युद्धविराममा समावेश छ कि छैन भन्ने विषयमा विवाद चर्किएको छ। इरान र पाकिस्तानले लेबनानस्थित हजिबुल्लाहमाथिको आक्रमण पनि युद्धविरामअन्तर्गत पर्ने बताएका छन्। तर अमेरिका र इजरायलले त्यसलाई अस्वीकार गरेका छन्।

युद्धविराम लागू भएको केही घण्टामै इजरायलले लेबनानमा ठूलो हवाई आक्रमण गर्दा ३०० भन्दा बढी मानिसको मृत्यु भएको र हजारौं घाइते भएका छन्। यस घटनाले विश्वभर तीव्र आलोचना भएको छ र वार्ता विफल हुने जोखिम बढाएको छ।

होर्मुज जलमार्ग : विश्व अर्थतन्त्रको नाडी

विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरू अहिले संकटको केन्द्रमा छ। इरानले केही सातायता यस मार्गमा जहाज आवतजावत रोकेपछि विश्व तेल बजारमा ठूलो असर परेको छ। हाल सयौं जहाज फारसी खाडीमा रोकिएका छन् र हजारौं चालक दल सदस्यहरू जहाजमै अलपत्र परेका छन्। अमेरिकाले जलडमरू तुरुन्त खोल्नुपर्ने माग गरेको छ भने इरानले युद्धविराम उल्लंघन भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।

के वार्ता सफल होला?

अमेरिकी पक्ष वार्ताप्रति आशावादी देखिएको छ। राष्ट्रपति ट्रम्पले इरान 'पहिलेभन्दा बढी लचक' भएको दाबी गरेका छन्। तर इरानले भने आफूले युद्धमा 'रणनीतिक जित' हासिल गरेको भन्दै कडा अडान कायम राखेको छ।

विश्लेषकहरूका अनुसार, यस सप्ताहन्तको वार्ता अन्तिम समाधान होइन, बरु दीर्घकालीन सम्झौताका लागि पहिलो चरण मात्र हुन सक्छ। तर यदि यो वार्ता असफल भयो भने मध्यपूर्वमा पुनः युद्ध चर्किने र विश्व अर्थतन्त्र अझ गम्भीर संकटमा फस्ने खतरा उच्च रहेको छ ।  

जे जसो भए पनि अहिले विश्वको नजर इस्लामाबादमा केन्द्रित छ—जहाँ केही दिनभित्र हुने निर्णयहरूले विश्व राजनीतिमा नयाँ मोड ल्याउन सक्छ।

प्रकाशित: २७ चैत्र २०८२ १९:३९ शुक्रबार