अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको ६० दिने समझदारीपत्र (एमओयू) को अवधि समाप्त भएको भन्दै यसको विस्तार नचाहेको स्पष्ट पारेका छन्।
उनले इरानलाई ‘आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्ने’ कडा चेतावनी दिएका छन्। जलमार्ग पूर्ण रूपमा खोल्नु अमेरिकाको प्रमुख माग रहेको छ। सोमबार ६० दिनको म्याद सकिएसँगै २४ सातादेखि जारी युद्ध अन्त्य गर्ने कुनै ठोस योजना देखिएको छैन। ट्रम्पले आफ्नो टोलीले इरानको रिभोलुसनरी गार्ड कोर्प्ससँग छलफल गरिरहेको दाबी गरे पनि आईआरजीसीले त्यसलाई अस्वीकार गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकी उल्लंघन र प्रतिबन्धका कारण वार्ताको समयसीमा ‘पूर्ण रूपमा विवादास्पद’ भएको भन्दै इरानी सेना जुनसुकै आक्रमणको जवाफ दिन तयार रहेको चेतावनी दिएका छन्।
यसअघि, इरानले होर्मुजको जलमार्गबाट ढुवानी व्यवस्थापन गर्न ओमानसँग सम्झौता भएको बताएको थियो। तर, ट्रम्पले यदि ओमानले जलमार्ग खोल्ने र युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासमा ‘बाधा पुर्याए’ ओमानमाथि नै हमला गर्ने धम्की दिएका छन्। मे महिनामा पनि उनले ओमानलाई यस्तै धम्की दिएका थिए। युद्धको शीर्ष लक्ष्य इरानलाई आणविक हतियारबाट रोक्नु रहेको ट्रम्पको भनाइ छ।
यसैबिच, इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा आक्रमण गरेपछि इरानले विश्वको करिब २० प्रतिशत तेल आपूर्तिको मार्ग मानिने होर्मुजको जलमार्गमा अवरोध रहँदै आएको छ। यता, यमनका हुथी विद्रोहीहरूले रेड सीमा एउटा जहाज र चार सैन्य डुंगामाथि आक्रमण गरेको दाबी गरेका छन्। साथै, उत्तरी इराकको कुर्दिश क्षेत्रमा भएका ड्रोन आक्रमणलाई लिएर क्षेत्रीय सुरक्षामाथि खतरा बढेको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्वको सैन्य समाधान नभएको भन्दै वार्ता पुनः सुरु गर्न र उत्तेजक बयानबाजी कम गर्न आग्रह गरेका छन्।
यसअघि, ट्रम्पका सल्लाहकार जेरेड कुशनरले इजिप्टमा हमास नेताहरूसँग गाजा युद्धविरामबारे वार्ता गरेपछि सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गरेका थिए। नेतान्याहूले गत हप्ता अमेरिका-समर्थित १५-बुँदे रोडम्याप अस्वीकार गरेका थिए।
कुशनरले हमासले तत्काल निःशस्त्रीकरण नगरे अमेरिकाले गाजामा थप इजरायली सैन्य कारबाहीलाई समर्थन गर्ने संकेत गरेका छन्। इराकस्थित अमेरिकी सेनाको फिर्ती प्रक्रिया र क्षेत्रीय अशान्तिबिच अमेरिका-इरान सम्बन्ध थप चिसिएको छ। एजेन्सी
प्रकाशित: २ भाद्र २०८३ ०६:४५ मंगलबार