अन्तर्राष्ट्रिय

होर्मुजमा अमेरिकी हस्तक्षेप अस्वीकार्य : आईआरजीसी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले होर्मुज जलमार्गको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा ‘कडा सैन्य प्रतिक्रिया’ दिने चेतावनी दिएको छ।

आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानलमार्फत जारी गरेको सन्देशमा फारसको खाडी र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलमार्ग हाल बन्द रहेको र त्यहाँबाट आवतजावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्गमार्फत मात्र सम्भव हुने जनाएको छ।

उक्त चेतावनीमा नियम उल्लङ्घन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। साथै, अमेरिकाको नौसेनाले जलमार्गको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरुद्ध गर्ने कुनै पनि प्रयास गरेमा कडा सैन्य कारबाही हुने स्पष्ट चेतावनी दिइएको छ।

यसैबीच, समुद्री स्रोतसम्बन्धी एक अन्तर्राष्ट्रिय निकायमार्फत जारी सूचनामा होर्मुज क्षेत्रको स्थिति संवेदनशील रहेको र इरानी बन्दरगाहमा प्रवेश वा बहिर्गमन गर्न निषेध गरिएको जनाइएको छ।

त्यस्तै, सोही क्षेत्र नजिक रहेका जहाजहरूका चालक दलले सार्वजनिक समुद्री रेडियो च्यानलमार्फत अमेरिकी सैन्य विमानले एक जहाजलाई तत्काल मार्ग परिवर्तन गर्न चेतावनी दिएको र त्यसको गतिविधि निगरानीमा राखिएको जानकारी दिएका छन्।

यस घटनाले होर्मुज जलमार्गमा तनाव थप बढेको देखिएको छ, जुन विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिन्छ ।

प्रकाशित: १७ जेष्ठ २०८३ १२:५४ आइतबार