अमेरिकी नेशनल इन्टेलिजेन्सकी निर्देशक तुलसी गबार्डले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले पति अब्राहम अत्यन्त दुर्लभ हड्डीको क्यान्सरसँग लडिरहेकाले यो कठिन समयमा पतिसँगै रहन उनले यस्तो निर्णय लिएकी हुन्।
गबार्डले शुक्रबार ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन्। नेशनल इन्टेलिजेन्स निर्देशकको कार्यालय (ओडीएनआई) मा उनको अन्तिम दिन जुन ३० हुनेछ। राजीनामा पत्रमा उनले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै यो पद सम्हाल्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताएकी छन्।
आफ्नो ११ वर्षको वैवाहिक जीवनको प्रसङ्ग उल्लेख गर्दै गबार्डले भनेकी छन्, ‘पूर्वी अफ्रिकामा मेरो तैनाथी, राजनीतिक अभियान वा यस पदमा मेरो सेवा होस्, अब्राहम (पति) सधैँ मेरो सबैभन्दा बलियो सहारा बने। उनी हरेक कठिन समयमा मेरो साथमा दृढतापूर्वक उभिए।’ उनले अगाडि भनिन्, ‘म यस्तो व्यस्त र जिम्मेवार पदमा रहिरहँदा उनले एक्लै यो कठिन लडाइँको सामना गर्ने आशा म गर्न सक्दिनँ।’
आफ्नो कार्यकालमा गुप्तचर प्रणालीमा पारदर्शिता बढाउन र विश्वसनीयता पुनर्स्थापना गर्न महत्त्वपूर्ण प्रगति भएको उनले बताएकी छन्।
एक दशकअघि इराक युद्धमा लेफ्टिनेन्ट कर्णेलको रूपमा लडेकी अमेरिकी सेनाकी रिजर्भिस्ट गबार्डले अक्टोबर २०२२ मा डेमोक्र्याटिक पार्टी छाडेकी थिइन्। त्यस बेला उनले डेमोक्र्याटिक पार्टी केही सम्भ्रान्त वर्गको नियन्त्रणमा रहेको, युद्धको कुरा गर्ने गरेको र इस्लामिक अतिवादलाई रोक्न नसकेको भन्दै तीव्र आलोचना गरेकी थिइन्।
सन् २०१६ र २०२० मा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको आन्तरिक दौडमा रहेकी गबार्ड सन् २०१९ को एउटा बहसका क्रममा कमला ह्यारिसलाई पराजित गरेर निकै चर्चामा आएकी थिइन्। डेमोक्र्याटिक पार्टी छाडेपछि फक्स न्युजमा आबद्ध भएकी उनले पछिल्लो समय रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचार गर्दै आएकी थिइन्।
प्रकाशित: ९ जेष्ठ २०८३ ०७:१२ शनिबार



