अन्तर्राष्ट्रिय

अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द, ट्रम्प भन्छन् : हामीसँग सबै कार्ड छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताका लागि आफ्ना विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरको पाकिस्तान भ्रमण रद्द गरेका छन्।

इरानसँगको द्वन्द्वमा अमेरिका बलियो अवस्थामा रहेको दाबी गर्दै ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई १८ घण्टाको लामो उडान भरेर इस्लामावाद जानु आवश्यक नरहेको बताएका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यात्रा रद्द गरेलगत्तै तेहरानले नयाँ प्रस्ताव पठाएको खुलासा गरे। उनले भने, ‘उनीहरूले हामीलाई एउटा पत्र दिएका थिए जुन राम्रो हुनुपर्थ्यो। रोचक कुरा के छ भने, मैले भ्रमण रद्द गरेको १० मिनेटभित्रै अर्को नयाँ पत्र आयो, जुन धेरै राम्रो थियो।’

ट्रम्पका अनुसार इरानको नेतृत्वभित्र ‘जबरजस्त आन्तरिक कलह र भ्रम’ रहेको टिप्पणी गर्दै जोसँग पनि व्यवहार गर्न आफू तयार रहेको बताए। उनले थपे, ‘उनीहरूले मलाई चाहेको बेला फोन गर्न सक्छन्। हामीसँग सबै कार्ड छन् र हामीले सबै जितेका छौं।’

यता इरानी विदेशमन्त्री अब्बास अरघचीले पाकिस्तानको भ्रमण पूरा गरी ओमानतर्फ प्रस्थान गरेका छन्। इस्लामावादमा रहँदा उनले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल एवं सेना प्रमुख असिम मुनिरसँग भेटवार्ता गरेका थिए। इरानले अमेरिकासँग सिधै वार्ता गर्न अस्वीकार गर्दै पाकिस्तानमार्फत मात्र आफ्ना सर्त र आपत्तिहरू बुझाएको छ।

विदेशमन्त्री अरघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिका कूटनीतिमा साँच्चै गम्भीर छ कि छैन भन्ने कुरा हेर्न बाँकी छ।’ इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै त्यसलाई नत्याग्ने अडान राख्दै आएको छ। ओमानको यात्रा सकेर अरघची फेरि पाकिस्तान हुँदै रुस जाने कार्यक्रम छ।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबिच पहिलो चरणको वार्ता अप्रिल ११-१२ मा भएको थियो। २१ घण्टासम्म चलेको उक्त वार्ता होर्मुज जलमार्ग र आणविक कार्यक्रमको विषयमा सहमति हुन नसक्दा असफल भएको थियो। अमेरिकाले तेल आपूर्तिको सुरक्षा र आणविक हतियार नियन्त्रण चाहेको छ भने इरान क्षेत्रमा आफ्नो प्रभाव कायमै राख्न चाहन्छ।

यसैबिच, अमेरिकी केन्द्रीय कमान्डले इरानी ‘छाया फ्लीट’ सँग सम्बद्ध एक जहाजलाई नियन्त्रणमा लिएर इरानतर्फै फिर्ता पठाउँदै गरेको जनाएको छ। इरानका राष्ट्रपति मसूद पेजेश्कियानले तेहरानले अमेरिकासँग कुनै पनि किसिमको जबरजस्ती वार्ता नगर्ने स्पष्ट पारेका छन्। एजेन्सी 

प्रकाशित: १३ वैशाख २०८३ ०७:०८ आइतबार