अन्तर्राष्ट्रिय

अमेरिकी नागरिकलाई तुरुन्तै भेनेजुएला छोड्न चेतावनी

अमेरिकी विदेश मन्त्रालयले भेनेजुएलामा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न कडा चेतावनी दिएको छ।

शनिबार विदेश मन्त्रालयले भनेको छ, ‘कोलेक्टिभोस भनेर चिनिने सशस्त्र मिलिसियाका समूहहरूले अमेरिकी नागरिकता वा संयुक्त राज्य अमेरिकालाई समर्थन गरेको प्रमाणको लागि सडक अवरोध खडा गर्ने र सवारी साधनहरू खोजी गर्ने रिपोर्टहरू छन्। सडकबाट यात्रा गर्दा सतर्क रहनुहोस् र सावधानी अपनाउनुहोस्।’

यो चेतावनी निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको एक हप्ता नपुग्दै आएको हो। अमेरिकाले भेनेजुएलालाई स्तर ४ को ‘यात्रा नगर्नुहोस्’ चेतावनी दिएको छ।

मादुरो पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको शपथ लिएकी छन्। भेनेजुएला सरकारले अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने प्रक्रिया सुरु गरेको छ। अमेरिकी कूटनीतिक टोली काराकास पुगिसकेको छ।

भेनेजुएला सरकारले भने देश पूर्ण रूपमा शान्त र स्थिर रहेको दाबी गरेको छ। तर अमेरिकी अधिकारीहरूले सशस्त्र मिलिसियाको जोखिमलाई गम्भीर मानेका छन्। यो स्थितिले अमेरिकी नागरिकहरूलाई तत्काल भाग्न बाध्य बनाएको छ। एजेन्सी 

प्रकाशित: २८ पुस २०८२ ०८:३१ सोमबार