अन्तर्राष्ट्रिय

सी-ट्रम्प भेटपछि अमेरिका र चीनबिच आठ विषयमा सहमति

तीन दिने शिखर सम्मेलनपछि अमेरिका र चीनबिच विभिन्न आठ विषयमा सहमति भएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच वासिङ्टनमा भएको भेटमा व्यापारदेखि एआईसम्मका विषयमा छलफल भएको थियो।

दुवै पक्षले सम्मान, निष्पक्षता र पारस्परिकताका आधारमा रणनीतिक स्थिरताको रचनात्मक चीन-अमेरिका सम्बन्ध निर्माण गर्ने सहमति गरेका छन्।

सहमतिअनुसार चीन र अमेरिकाले नोभेम्बरमा चीनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलन र त्यसपछि अमेरिकामा हुने जी२० शिखर सम्मेलन सफल बनाउन एक अर्कालाई सहयोग गर्नेछन्। 

दुवै देशका राष्ट्रप्रमुख ती बैठकमा सहभागी हुने जनाइएको छ।

साथै, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता पालना गर्नुपर्ने र अन्तर्राष्ट्रिय जलमार्गमा कुनै पनि देशले कर लगाउन नहुने कुरामा पनि सहमति भएको छ। उनीहरूले दोस्रो विश्वयुद्धमा चीन र अमेरिका सहयोगी रहेको कुरा पनि स्मरण गरेका छन्।

आर्थिक तथा व्यापारका विषयमा दुवै देशले करिब ३० अर्ब अमेरिकी डलर बराबरका सामानमा पारस्परिक भन्सार शुल्क घटाउने व्यवस्था कार्यान्वयन गर्ने सहमति गरेका छन्। व्यापारसम्बन्धी सहकार्य अघि बढाउन व्यापार बोर्ड पनि स्थापना गरिएको छ।

लागूऔषध नियन्त्रण र कानुन कार्यान्वयनमा सहकार्य जारी राख्ने सहमति भएको छ। दुवै पक्षले नयाँ मनोवैज्ञानिक पदार्थ र फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनसँग सम्बन्धित विषयमा सहकार्यबाट परिणाम आएको बताएका छन्।

एआईका जोखिम र फाइदाबारे छलफल गर्न चीन-अमेरिका एआई संवाद स्थापना गर्ने सहमति भएको छ। यसको अर्को बैठक नोभेम्बर २०२६ मा हुनेछ। एआईसँग सम्बन्धित घटनाका लागि द्विपक्षीय सञ्चार च्यानल स्थापना गर्ने पनि सहमति भएको छ।

चीन र अमेरिकी सेनाले संकट सञ्चार तथा रोकथामसम्बन्धी समझदारीपत्रमा छिट्टै निष्कर्षमा पुग्ने र चीनमा बेपत्ता अमेरिकी सैनिकका अवशेष खोज्ने काममा सहकार्य जारी राख्ने भएका छन्।

यसैगरी, अमेरिकाले चीनले भाडामा दिएका दुई (पिङ पिङ र फु शुआङ) विशाल पाण्डा चिडियाखाना एटलान्टामा ल्याउने कुराको स्वागत गरेको छ। ती पाण्डाको जोडी आइतबार बिहान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित चेङ्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टाका लागि चार्टर्ड उडानमार्फत प्रस्थान गरेका छन्। उनीहरू अब एटलान्टामा १० वर्ष रहनेछन्।

प्रस्थान गर्नुअघि विशाल पाण्डा प्रजननसम्बन्धी चेङ्दु अनुसन्धान आधारले उनीहरूका लागि बिदाइ समारोह आयोजना गरेको थियो।

शिखर सम्मेलनले दुई देशबिचका सबै मतभेद समाधान नगरे पनि व्यापार, एआई र सुरक्षा क्षेत्रमा संवादका संयन्त्र बनाउने सहमति भएको छ।

उता, ट्रम्पले अमेरिकाले एआई विकासमा पछि नहट्ने बताएका छन्। ‘संयुक्त राज्य अमेरिकाले ब्रेक लगाउने छैन,’ उनले भने। चीन र अमेरिकाबिचको व्यापार युद्धविराम दुई महिना बढाउने सहमति पनि भएको छ।

अमेरिका भ्रमण सकेर सी शनिबार नै बेइजिङ फर्किएका थिए। एजेन्सी

प्रकाशित: ११ आश्विन २०८३ १०:२३ आइतबार