अन्तर्राष्ट्रिय

होर्मुज जलमार्ग नजिकै अमेरिकी अपाचे हेलिकप्टर दुर्घटना

चालक दलका दुवै सदस्य सुरक्षित

होर्मुज जलमार्ग नजिकै अमेरिकी सेनाको एक अपाचे हेलिकप्टर गनशिप दुर्घटनाग्रस्त भएको छ।

विमानमा सवार चालक दलका दुई सदस्यलाई सकुशल उद्धार गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। यो इरान युद्धका क्रममा अमेरिकाले गुमाएको पहिलो अपाचे हेलिकप्टर हो।

न्यूयोर्क टाइम्सका अनुसार यो हेलिकप्टर इरानी आक्रमणका कारण खसेको हो, प्राविधिक गडबडीले वा अन्य कुनै कारणले हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। अमेरिकी रक्षा मन्त्रालय र सेन्ट्रल कमाण्डले यसबारे आधिकारिक वक्तव्य जारी गरेका छैनन्। इरानले व्यावसायिक यातायातका लागि होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले त्यहाँ अपाचे हेलिकप्टर, ड्रोन र लडाकु विमानहरू परिचालन गरेको थियो।

जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘पाइलटहरू ठीक छन् र कोही पनि घाइते भएका छैनन्। हामी भोलि यसबारे रिपोर्ट जारी गर्नेछौं।’

यसैक्रममा ट्रम्पले इरानसँगको वार्ताप्रति नयाँ आशावाद व्यक्त गरेका छन्। उनले विस्तृत विवरण नदिई भने, ‘हामी धेरै राम्रो, बलियो र शक्तिशाली सम्झौताको नजिक छौं र दुई-तीन दिनमै सम्झौतामा हस्ताक्षर हुने राम्रो सम्भावना छ।’ उनले अगाडि थपे, ‘यदि हामीले बम प्रहार गर्‍यौं भने धेरै मानिस मारिनेछन्। कसले त्यसो गर्न चाहन्छ? म चाहन्न।’

फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धका कारण विश्वभर ऊर्जा र खाद्यान्नको मूल्य बढेको छ। पाकिस्तानको मध्यस्थतामा हप्तौंदेखि सम्झौताको प्रयास भइरहे पनि इरान र अमेरिका दुवैले आ-आफ्नो कडा अडान छाडेका छैनन्।

अमेरिका इरानले समृद्ध युरेनियमको भण्डार त्यागोस् भन्ने चाहन्छ भने इरान प्रतिबन्धहरूबाट राहत र आफ्नो रोक्का गरिएको सम्पत्ति फिर्ता मागिरहेको छ। एजेन्सी 

प्रकाशित: २६ जेष्ठ २०८३ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App