नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि अमेरिका र अस्ट्रेलियाले नेपाललाई थप मानवीय सहयोग गर्ने घोषणा गरेका छन्।
अमेरिकाले ३६ लाख अमेरिकी डलरभन्दा बढी र अस्ट्रेलियाले थप ३० लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने घोषणा गरेका हुन्। अमेरिकी विदेश मन्त्रालयले बाढी प्रभावित नेपालीलाई जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाएको छ।
सहयोगअन्तर्गत बाढी प्रभावित १० हजार परिवारसम्मलाई तीन महिनासम्म पुग्ने आकस्मिक खाद्य सामग्री उपलब्ध गराइनेछ। नेपाल र चीनस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई सहयोग गर्नुका साथै राहत कार्यमा समन्वय गरिरहेको जनाएको छ।
अस्ट्रेलियाले पनि बाढीपछि राहत र पुनर्स्थापनाका लागि थप ३० लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने घोषणा गरेको छ। यो घोषणा अस्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेस, विदेशमन्त्री पेनी वङ र अन्तर्राष्ट्रिय विकासमन्त्री एनी अलीले ३० अगस्टमा संयुक्त रूपमा गरेका हुन्।
थप सहयोगमध्ये २० लाख अस्ट्रेलियाली डलर हाइजिन किट, सौर्य बत्ती लगायतका आकस्मिक सामग्री र अन्य मानवीय सहयोगमा खर्च गरिनेछ। यी सामग्री अस्ट्रेलियाली रक्षा बलमार्फत नेपाल ल्याइनेछ। रोयल अस्ट्रेलियन एयर फोर्सले पहिलो चरणका सामग्री क्विन्सल्यान्डबाट आगामी दिनमा नेपाल ल्याउने भएको छ।
यसैगरी, अस्ट्रेलियाली नागरिकले इमर्जेन्सी एक्सन एलायन्सको राहत अपिलमा १४ लाख अस्ट्रेलियाली डलर सहयोग गरिसकेका छन्। त्यसमा अस्ट्रेलियाली सरकारले थप १० लाख डलर दिने भएको छ। नयाँ सहयोगसहित नेपालमा आएको विपद्का लागि अस्ट्रेलियाली सरकारको कुल मानवीय सहायता ८० लाख अस्ट्रेलियाली डलर पुगेको छ।
अस्ट्रेलियाली सरकारले बाढीपछि ४२ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ। उनीहरूको अवस्था पत्ता लगाउन र परिवारलाई सहयोग गर्न सरकारले निरन्तर काम गरिरहेको बताएको छ।
संकट व्यवस्थापन, कन्सुलर सेवा र प्रहरीसहित १२ जना अस्ट्रेलियाली कर्मचारी तथा अधिकारी काठमाडौंमा खटिएका छन्। अस्ट्रेलियाले नेपालसँग निरन्तर समन्वय गरिरहेको र आवश्यकताअनुसार थप सहयोग गर्ने पनि जनाएको छ।
प्रकाशित: १५ भाद्र २०८३ १२:३१ सोमबार