विश्वव्यापी रूपमा बढ्दो इन्धनको मूल्य नियन्त्रण गर्न अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले इरानी तेलमाथिको प्रतिबन्धमा ३० दिने अस्थायी छुट दिने निर्णय गरेको छ।
अमेरिकी कोष विभाग (ट्रेजरी) ले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै समुद्रमा जहाजहरूमा लोड भइसकेका इरानी कच्चा तेल र पेट्रोलियम पदार्थ बिक्री गर्न अनुमति दिएको हो।अमेरिकी कोष सचिव स्कट बेसेन्टले सामाजिक सञ्जाल 'एक्स' मार्फत यो कदमले विश्व बजारमा करिब १४ करोड ब्यारेल तेल थप्ने र आपूर्तिमा परेको दबाब कम गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘हामी अपरेशन एपिक फ्युरी जारी राख्दै मूल्य घटाउन तेहरान विरुद्ध इरानी ब्यारेलहरू प्रयोग गर्नेछौं।’ यो छुट २० मार्चदेखि १९ अप्रिलसम्मका लागि मात्र लागु हुने उनले प्रस्ट पारे।
यसअघि अमेरिकाले रुसी तेलमाथिको प्रतिबन्ध पनि खुकुलो पारेको थियो। ट्रम्प प्रशासनको यो कदमको चौतर्फी आलोचना पनि सुरु भएको छ। आलोचकहरूले इरानसँग युद्ध चलिरहेका बेला तेल बेच्न अनुमति दिँदा इरानलाई नै आर्थिक फाइदा पुग्ने र उसको 'युद्ध मेसिन' बलियो हुने तर्क गरेका छन्। ब्ल्याकस्टोन कम्प्लायन्स सर्भिसेजका डेभिड ट्यानेनबाउमले बीबीसीसँग कुरा गर्दै यो निर्णयलाई ‘केरा’ (मूर्खतापूर्ण) को संज्ञा दिएका छन्।
सिनेटर रिचर्ड ब्लुमेन्थलले पनि यो कदमलाई ‘लज्जास्पद रूपमा मूर्ख’ भन्दै यसले शत्रुलाई प्रोत्साहन मिल्ने टिप्पणी गरे। तर कोष सचिव बेसेन्टले भने यो विश्लेषणलाई अस्वीकार गरेका छन्। उनले यो अनुमति ‘ट्रान्जिट’ मा रहेका तेलका लागि मात्र भएको र इरानले यसबाट प्राप्त हुने राजस्वमा सहजै पहुँच नपाउने दाबी उनको छ।
हर्मुज जल मार्गमा भएको तनावका कारण तेल आपूर्ति रोकिएपछि अमेरिकामा ग्यासको मूल्य एक महिनामा प्रति ग्यालन एक डलरले बढेको छ। यही आर्थिक भार कम गर्न ट्रम्पले रणनीतिक पेट्रोलियम रिजर्भबाट तेल निकाल्ने र घरेलु उत्पादन बढाउने प्रयास गरिरहेका छन्। एजेन्सी
प्रकाशित: ७ चैत्र २०८२ ०७:४४ शनिबार