अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेतृलाई दुई वर्ष जेल : नेपालसँग जोडिएको आरोप खारेज

दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेतृ हान हाक-जालाई राजनीतिक चन्दा र घुससम्बन्धी मुद्दामा दुई वर्ष जेल सजाय सुनाएको छ। तर नेपाल र सेनेगलका राजनीतिज्ञलाई चुनावी खर्च दिन चर्चको रकम हिनामिना गरेको आरोप भने खारेज भएको छ।

सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार ८३ वर्षीया हानलाई पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी तथा पूर्वप्रथम महिला किम केओन हीलाई महँगा उपहार दिन सहयोग गरेको र तत्कालीन सांसद क्वेन सियोङ-डोङलाई अवैध रकम दिएको अभियोगमा दोषी ठहर गरेको हो। अदालतले राजनीतिक चन्दा र घुससम्बन्धी दुई छुट्टाछुट्टै कानुन उल्लंघनमा हानलाई एक-एक वर्ष गरी कुल दुई वर्ष जेल सजाय सुनाएको हो।

विशेष वकिल मिन जोङ-कीको टोलीले हानलाई १३ वर्ष जेल सजाय दिन माग गरेको थियो। तर अदालतले दुई वर्षको सजाय सुनाएको हो। अदालतका अनुसार हानले जुलाई २०२२ मा एक मध्यस्थमार्फत किमलाई महँगो हार र च्यानलको ब्याग दिन सहयोग गरेकी थिइन्। चर्चका लागि अनुकूल व्यवहार पाउन किमसँग सहयोग माग्ने उद्देश्यले ती उपहार दिइएको अदालतले ठहर गरेको छ।

त्यस्तै, अदालतले हानले तत्कालीन प्रमुख विपक्षी पिपुल पावर पार्टीका सांसद क्वेन सियोङ-डोङलाई जनवरी २०२२ मा १० करोड वन दिन पूर्वचर्च अधिकारीहरूसँग मिलेर काम गरेको ठहर गरेको छ। विशेष वकिलको टोलीका अनुसार युनले राष्ट्रपतिको चुनाव जितेपछि चर्चका लागि अनुकूल व्यवहार पाउन क्वेनको सहयोग लिन खोजिएको थियो। युन त्यतिबेला पिपुल पावर पार्टीका उम्मेदवार थिए र मार्च २०२२ को चुनाव जितेका थिए।

अदालतले मार्च २०२२ मा चर्चको रकम प्रयोग गरेर १४ करोड ४० लाख वन बराबरको अवैध राजनीतिक चन्दा दिएको अभियोगमा हान र चर्चका अन्य पूर्वअधिकारीलाई पनि दोषी ठहर गरेको छ। तर यही चन्दासँग जोडिएको रकम हिनामिना गरेको आरोपमा भने हानलाई सफाइ दिएको छ।

द कोरिया टाइम्सका अनुसार नेपालसँग जोडिएको विषय हानमाथि लगाइएको अर्को ठुलो आरोप थियो। मेदेखि जुलाई २०२२ सम्म नेपाल र सेनेगलका राजनीतिज्ञलाई चुनावी खर्च दिन चर्चको ७८ करोड ७० लाख वन बराबरको रकम हिनामिना गरेको आरोप उनीमाथि थियो। तर अदालतले यो आरोप खारेज गरेको छ।

अदालतका अनुसार यो आरोप विशेष वकिललाई दिइएको अनुसन्धानको दायराभन्दा बाहिर पर्छ। त्यसैले अदालतले नेपालका राजनीतिज्ञलाई उक्त रकम दिइएको वा नदिइएको विषयमा फैसला गरेन। अनुसन्धानको दायराबाहिर रहेको भन्दै यो आरोप नै खारेज गरिएको हो।

हानले भने आफूले कुनै गलत काम नगरेको र आफूलाई राजनीतिक विषयमा रुचि नभएको दाबी गर्दै आएकी छन्। उनका अनुसार चर्चका अधिकारीहरूले उनको जानकारीबिनै काम गरेका थिए। पूर्वप्रथम महिला हीविरुद्ध पनि युनिफिकेशन चर्चबाट महँगा उपहार लिएको लगायतका आरोपमा छुट्टै मुद्दा चलेको थियो। उनलाई जनवरीमा २० महिनाको जेल सजाय सुनाइएको थियो भने पुनरावेदन अदालतले थप आरोपमा दोषी ठहर गर्दै अप्रिलमा सजाय बढाएर चार वर्ष पुर्‍याएको थियो।

युनिफिकेशन चर्चसँग जोडिएको यो प्रकरण पूर्वराष्ट्रपति येओलको राजनीतिक संकटसँग पनि सम्बन्धित छ। सन् २०२४ को अन्त्यमा उनको विवादास्पद कदमपछि उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढेको थियो र अन्ततः उनी राष्ट्रपतिको पदबाट हटेका थिए।

प्रकाशित: १५ भाद्र २०८३ १३:२६ सोमबार