अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनमा ‘अप्रत्याशित’ फेरबदल : सेना प्रमुख र महान्यायाधिवक्तासहित उच्च अधिकारी पदमुक्त

इरानसँगको युद्ध र आन्तरिक राजनीतिक दबाबका बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा व्यापक फेरबदल सुरु गरेका छन्। 

सन् २०२६ अप्रिलको सुरुवातमै महान्यायाधिवक्ता पाम बोन्डी र सेना प्रमुख जनरल र्‍यान्डी जर्जसहित कयौँ वरिष्ठ अधिकारीहरूलाई पदबाट हटाइएको छ। यो परिवर्तन युद्धको पाँचौं हप्तामा भएको छ जसले प्रशासनभित्रको अस्थिरता बाहिर ल्याएको छ।

रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख जनरल र्‍यान्डी जर्जलाई तत्काल अवकाश लिन निर्देशन दिएका छन्। सन् २०२७ सम्म पदावधि रहेका जर्जको बहिर्गमनसँगै जनरल क्रिस्टोफर ला नेभेलाई कार्यवाहक सेना प्रमुखको जिम्मेवारी दिइएको छ। 

यसैगरी, जनरल डेभिड होडने र मेजर जनरल विलियम ग्रिन जुनियरलाई पनि पदमुक्त गरिएको छ। पेन्टागनले यसलाई सामान्य प्रक्रिया भने पनि विश्लेषकहरूले यसलाई युद्धका बेला सैन्य नेतृत्वमा गरिएको 'राजनीतिक शुद्धीकरण' का रूपमा लिएका छन्। हेगसेथले पहिलेदेखि नै सेनाका धेरै उच्च अधिकारीहरूलाई हटाउने क्रम जारी राखेका छन्।

महान्यायाधिवक्ता पाम बोन्डीलाई पनि हटाइएको छ। उनीमाथि जेफ्री एपस्टिन यौन शोषण प्रकरणसँग सम्बन्धित फाइलहरूको व्यवस्थापनमा कमजोरी गरेको आरोप छ। उनले बुझाएको ‘एपस्टिन फाइल्स फेज १’ मा कुनै नयाँ तथ्य नभएपछि उनी विवादमा परेकी थिइन्। 

उनको स्थानमा अहिले टोड ब्लान्चेले कार्यवाहक महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका छन्। यसअघि मार्च ५ मा होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्टी नोएमलाई पनि पदमुक्त गरिएको थियो। बोन्डीको हटाइलाई ट्रम्पका समर्थकहरूले एपस्टिन फाइल्सको ह्यान्डलिङ र राजनीतिक विरोधीहरूमाथि मुद्दा नचलाएको कारणसँग जोडेका छन्।

अहिले एफबीआई प्रमुख काश पटेल र नेशनल इन्टेलिजेन्स प्रमुख तुलसी गबार्डको पद पनि संकटमा रहेको चर्चा छ। पटेलमाथि सरकारी स्रोत र सुरक्षा टोलीको व्यक्तिगत दुरुपयोग गरेको आरोप छ। 

उता, गबार्डले इरान युद्ध र परमाणु क्षमताबारे ट्रम्पको दाबीको खण्डन गरेकी थिइन्। यसबारे ट्रम्पले भनेका थिए, ‘उनीहरूको सोच्ने तरिका मेरोभन्दा अलि फरक छ, तर यसको मतलब उनीहरूले सेवा गर्न सक्दैनन् भन्ने होइन।’ यद्यपि, ट्रम्पले उनीहरूको विकल्पबारे छलफल गरिरहेको बताइन्छ तर अझै कुनै अधिकारिक निर्णय भएको छैन।

फेब्रुअरी २८ देखि सुरु भएको इरान युद्धका बिच ट्रम्पले सैन्य उद्देश्यहरू पूरा हुन लागेको दाबी गरिरहेका छन्। उनले इरानमा अझै कडा हमला जारी राख्ने चेतावनी दिँदै ठट्टाको शैलीमा भने, ‘यदि यो सम्झौता भएन भने म उपराष्ट्रपति जेडी भान्सलाई दोष दिनेछु, तर पूरा भयो भने पूर्ण श्रेय म आफैँ लिनेछु।’ बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले आगामी दुई तीन हप्तासम्म इरानमाथि अत्यन्त कडा हमला गर्ने चेतावनी दिएका थिए।

हाल इरानमा अमेरिका र इजरायलको हमलाबाट ठूलो क्षति पुगेको छ। तेहरान नजिकको पुललगायत विभिन्न लक्ष्यमा हमला भएको छ। इरानले इजरायल र खाडी क्षेत्रका देशमा मिसाइल र ड्रोन हमला जारी राखेको छ। 

होर्मुज जलमार्गमा तनाव बढ्दा विश्व बजारमा तेलको मूल्य आकाशिएको छ। अमेरिकाले आफ्नो उद्देश्य पूरा हुन लागेको दाबी गरिरहेको भए पनि ट्रम्प प्रशासनभित्र अचानक भएको यो फेरबदलले युद्धको आगामी दिशा तय गर्ने आशंका गरिएको छ। इरान युद्धमा महत्वपूर्ण पक्षका रुपमा रहेको इजरायलका कारण पनि अमेरिका इरान युद्धबाट बाहिर निस्कन नसकेको चर्चा भइरहेको छ। एजेन्सी

प्रकाशित: २० चैत्र २०८२ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App