अन्तर्राष्ट्रिय

पहिलो ऐतिहासिक सर्बिया भ्रमणमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सर्बियाको पहिलो आधिकारिक भ्रमणमा पुगेका छन्। 

युक्रेनमाथि रूसको पूर्णकालीन सैन्य आक्रमण जारी रहे पनि सर्बियाले अहिलेसम्म युक्रेनसँगको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै आएको छ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमार्फत आफू सर्बिया आइपुगेको जानकारी गराएका हुन्। यसअघि, सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिकको कार्यालयले यो उच्चस्तरीय भ्रमणको औपचारिक घोषणा गरेको थियो। भ्रमणबारे जानकारी दिँदै जेलेन्स्कीले भने, ‘दुई देशबिच महत्त्वपूर्ण द्विपक्षीय वार्ताहरू तय गरिएका छन्।’ उनले यस क्रममा राष्ट्रपति भुचिक र सर्बियाका प्रधानमन्त्री मिलोस भुचेभिचसँग उच्चस्तरीय भेटवार्ता गर्ने तालिका रहेको समेत स्पष्ट पारेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार यस भ्रमणमा दुई देशबिचको आर्थिक सम्बन्ध विस्तार, युरोपेली सं३ –इयु) सँगको आबद्धता र दुवै देशका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने व्यावहारिक अवसरहरूको खोजीका साथै क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा सघन छलफल हुनेछ।

युरोपेली सं३ले आफ्नो विदेश नीति अनुरूप चल्न निरन्तर दबाब दिइरहेका बेला, सर्बियाले मस्कोसँगको आफ्नो परम्परागत र ऐतिहासिक सम्बन्धलाई समेत सन्तुलनमा राख्ने रणनीतिक प्रयास स्वरूप यो भ्रमण गराएको हो।

राष्ट्रपति भुचिकले दुई देशबिचको पुरानो ऐतिहासिक सम्बन्धको दुहाई दिँदै युक्रेनमा भइरहेको रूसी आक्रमणविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा सामेल हुन भने स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन्। हाल सर्बिया युरोपेली सं३ –इयु) को पूर्ण सदस्यता लिने प्रक्रियामा रहेको छ। तर मस्कोप्रतिको उसको उदार नीति र प्रतिबन्ध लगाउन देखाएको अनिच्छाका कारण यो प्रक्रिया केही हदसम्म सुस्त बनेको छ।

सर्बिया आफ्नो ऊर्जा आपूर्तिको लागि लगभग पूर्ण रूपमा रूसमाथि निर्भर रहँदै आएको छ। बेलग्रेडले मस्कोविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा सामेल हुन अस्वीकार गरे पनि उसले युक्रेनलाई मानवीय र आर्थिक सहयोग भने उपलब्ध गराउँदै आएको छ।

राष्ट्रपति भुचिकले हालैका दिनहरूमा पश्चिमा देशहरूसँगको आफ्नो कूटनीतिक छवि सुधार गर्ने उद्देश्यले कीभसँगको सम्बन्धलाई थप सुदृढ बनाउने रणनीति लिएका छन्। गत वर्ष रूसले सर्बियामाथि नेटो सदस्य राष्ट्रहरूमार्फत अप्रत्यक्ष रूपमा युक्रेनलाई हतियार आपूर्ति गरेको आरोप लगाउँदै यस कदमलाई ‘धोका’ को संज्ञा दिएको थियो। यद्यपि, सर्बियाले युद्धपछि युक्रेनको पुनर्निर्माण प्रक्रियामा सक्रिय रूपमा सघाउने प्रतिबद्धता समेत व्यक्त गरिसकेको छ।

यस उच्चस्तरीय भ्रमण हुनुअघि राष्ट्रपति भुचिकले आफू र जेलेन्स्कीबिच विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने तथा युरोपेली सं३को सदस्यता प्राप्तिको साझा मार्गबारे विस्तृत छलफल हुने बताएका थिए। तर, भुचिकले रूसमाथिको प्रतिबन्धका विषयमा सर्बियाको पुरानो अडानमा कुनै फेरबदल नहुने कुरालाई पुन: स्पष्ट पारेका छन्।

‘जहाँसम्म प्रतिबन्धको कुरा छ, म तपाईंलाई प्रष्ट रूपमा बताउन चाहन्छु : सर्बियाले यस विषयमा आफ्नो राष्ट्रिय नीति तय गरिसकेको छ,’ भुचिकले सञ्चारकर्मीहरूसँग भने। उनले सर्बियाको यो कूटनीतिक अडान परिवर्तन नभएको र तत्कालका लागि यसैले निरन्तरता पाउने जानकारी दिए।

यसैबिच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘युक्रेन सधैँ रचनात्मक रूपमा, आपसी फाइदाको आधारमा र पारस्परिक सम्मानका साथ काम गर्न प्रतिबद्ध छ।’ सन् २०२२ मा युक्रेनमाथि पूर्णकालीन सैन्य आक्रमण सुरु गरेयता रूसले लगातार कडा अन्तर्राष्ट्रिय आलोचना र व्यापक आर्थिक प्रतिबन्धहरूको सामना गरिरहेको छ।

राष्ट्रपति भुचिक र जेलेन्स्की दुवैले यस उच्चस्तरीय भ्रमणलाई आ–आफ्नो राजनीतिक लाभका लागि उपयोग गर्ने रणनीति बनाएका छन्। नोभेम्बर २०२४ मा सर्बियामा भएको दुखद रेलवे स्टेसन दुर्घटनापछि युवाहरूको नेतृत्वमा झन्डै एक वर्षदेखि भइरहेको लगातारको विरोध प्रदर्शनका कारण भुचिक नेतृत्वको सरकार दबाबमा छ।

मस्कोसँगको निकटता र लोकतान्त्रिक अभ्यासहरू कमजोर बन्दै गएका कारण सर्बियाले युरोपेली सं३बाट प्राप्त हुने अर्बौँ डलरको आर्थिक सहयोग गुमाउन सक्ने र सदस्यताको बाटो पूर्ण रूपमा रोकिन सक्ने अनुमान राजनीतिक वृत्तमा भइरहेको छ। १६ जनाको ज्यान जाने गरी भएको उक्त रेलवे स्टेसन दुर्घटनापछि भुचिकले देशभित्र चर्को जनआक्रोश र राजनीतिक चुनौतीको सामना गरिरहनु परेको छ।

सन् २०२२ मा रूसी आक्रमण सुरु भएयता भुचिक र जेलेन्स्कीबिच विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पटक–पटक भेटवार्ता भइसकेको छ। रूसी आक्रमणविरुद्ध कीभको लडाइँलाई समर्थन गर्न र युरोपेली ऐक्यबद्धता बलियो बनाउन आयोजित शिखर सम्मेलनहरूमा भाग लिन भुचिकले दुई पटक युक्रेनको युद्वकालीन यात्रा समेत गरिसकेका छन्। यद्यपि, हरेक पटक उनले मस्कोविरुद्ध कडा प्रतिबन्धहरू लगाउने सम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न भने स्पष्ट रूपमा अस्वीकार गर्दै आएका छन्। एजेन्सी

प्रकाशित: २३ श्रावण २०८३ १३:५२ शनिबार