युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग ‘ऊर्जा युद्धविराम’ गर्न आफ्नो देश तयार रहेको बताएका छन्।
न्यूयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ४० मिनेट वार्ता गरेपछि उनले यस्तो बताएका हुन्। जेलेन्स्कीका अनुसार रूसले युक्रेनको विद्युत्, ताप र पानी आपूर्ति प्रणालीमा आक्रमण रोक्ने हो भने युक्रेन पनि रूसी डिजेल र तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न तयार छ।
‘हामी ऊर्जा युद्धविरामका लागि तयार छौँ। यदि उनीहरूले हाम्रो ऊर्जा प्रणालीमा आक्रमण गर्दैनन् भने हामी पनि उनीहरूको डिजेल र तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दैनौँ,’ उनले भनेका छन्।
ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले अमेरिकाले युक्रेनको ऊर्जा युद्धविरामको प्रस्ताव रूससमक्ष पुर्याउने बताएका हुन्। तर रूसको प्रतिक्रिया भने अझै स्पष्ट नभएको उनले बताए। जेलेन्स्कीले यस्तो सम्झौता दुवै पक्षले समान रूपमा लागू गर्नुपर्नेमा जोड दिएका छन्।
जेलेन्स्कीले ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र आफूबिच त्रिपक्षीय वार्ताका लागि पनि आफू तयार रहेको बताएका छन्। युद्ध अन्त्य गर्न प्रत्यक्ष संवाद आवश्यक रहेको उनको भनाइ छ।
यसैबिच, जेलेन्स्कीले रूसले युक्रेनविरुद्ध नयाँ ठुलो आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना रहेको दाबी गरेका छन्। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको भेटमा उनले रूसमाथिको प्रतिबन्ध खुकुलो पार्ने विषयमा अहिले छलफल हुन नसक्ने बताए।
जाडोयाम नजिकिँदै गर्दा जेलेन्स्कीले ट्रम्पसँग हवाई सुरक्षाका लागि थप प्याट्रियट क्षेप्यास्त्र माग गरेका छन्। उनले अमेरिकाबाट प्याट्रियट उत्पादनको अनुमतिपत्र लिएर युक्रेनमै यसको उत्पादन सुरु गर्ने विषयमा पनि छलफल भइरहेको बताए। ट्रम्पले प्रस्ताव अस्वीकार नगरेको तर ठोस सहमति भने भइनसकेको जेलेन्स्कीले बताएका छन्।
यता, आज बिहान रूसले युक्रेनमा १६१ वटा ड्रोन प्रहार गरेको किभ पोस्टले जनाएको छ। खार्किभ क्षेत्रमा भएको आक्रमणमा ८ जना घाइते भएका हुन्। कीभमा ग्यास केन्द्र, गोदाम र यातायात पूर्वाधारमा पनि क्षति पुगेको जनाइएको छ।
ऊर्जा युद्धविरामको प्रस्ताव सार्वजनिक भएको समयमा भएको यो आक्रमणले दुवै पक्षबिच आक्रमण रोक्ने सहमति कार्यान्वयन गर्न चुनौती रहेको देखाएको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: ७ आश्विन २०८३ १४:१२ बुधबार