अन्तर्राष्ट्रिय

युक्रेनको दाबी : हामीले रुसको कब्जाबाट सुमी फिर्ता लियौँ

युक्रेनको सेनाले आइतबार हालैका दिनहरूमा महत्त्वपूर्ण प्रगति गरेको र रुसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको बताएको छ। 

युक्रेनी सेनाले बेजसालिवकाबाट रुसी सेनालाई ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ। पोस्टमा लडाइँमा १८ रुसी सैनिक ‘मारिएको’ उल्लेख छ।  

यो गाउँ देशको उत्तरमा युद्धको मोर्चामा छ र उत्तरी क्षेत्रमा दुई सेनाबिच भइरहेको मुख्य लडाइँबाट करिब २० किलोमिटर (१३ माइल) पश्चिममा अवस्थित छ। 

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको रुसले युक्रेनी सेनाबाट आफ्नो कुस्र्क क्षेत्र पुनः कब्जा गरेपछि अप्रिलमा सुमीमा नयाँ आक्रमण सुरु गरेको थियो।  

रुसी सेना हाल सुमीको क्षेत्रीय राजधानीबाट करिब २० किलोमिटर टाढामा छ। सुमीको क्षेत्रीय राजधानी बारम्बार घातक गोलाबारी आक्रमणको निशाना बनेको छ।  

रुसी आक्रमणको मुख्य फोकस पूर्वी युक्रेनमा छ। त्यहाँ रुसले हालैका महिनाहरूमा कम सुसज्जित प्रतिद्वन्द्वीहरूविरुद्ध आफ्ना जीतहरू बढाएको छ। एएफपी

प्रकाशित: २५ श्रावण २०८२ १७:२१ आइतबार