बेलायतले अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका विद्यार्थीका लागि विद्यार्थी भिसामाथि प्रतिबन्ध लगाएको छ।
साथै, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य गरिएको छ। गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यी देशका नागरिकलाई पहिलो पटक भिसामा ‘आपतकालीन ब्रेक’ लगाइएको जानकारी गराएको हो।
सन् २०२१ देखि २०२५ को बीचमा यी चार देशका विद्यार्थीको शरणार्थी आवेदनमा ४७० प्रतिशतभन्दा बढीले वृद्धि भएको मन्त्रालयको तथ्यांक छ। गृह सचिव शबाना महमुदले भनिन्, ‘बेलायतले युद्ध र उत्पीडनबाट भागेर आएकालाई सधैँ शरण दिनेछ, तर हाम्रो भिसा प्रणालीको दुरुपयोग गरिनु हुँदैन। त्यसैले म हाम्रो उदारताको दुरुपयोग गर्न खोज्ने नागरिकलाई भिसा अस्वीकार गर्ने अभूतपूर्व निर्णय गर्दैछु।’
बेलायती राजनीतिमा आप्रवासन मुख्य मुद्दा बनेको छ। कट्टर दक्षिणपन्थी ‘रिफर्म यूके’ पार्टीको प्रभाव रोक्न प्रधानमन्त्री केअर स्टार्मरको सरकारले शरण प्रक्रिया कडा पार्दै अवैध रूपमा आउनेको निर्वासनलाई गति दिएको छ।
प्रेस एसोसिएसन (पीए) का अनुसार बिहीबार यी नियम आधिकारिक रूपमा पेस गरिनेछ। नयाँ नियमअनुसार अब शरण खोज्नेले प्रत्येक ३० महिनामा आफ्नो स्थितिको समीक्षा सामना गर्नुपर्नेछ। अध्ययन भिसामा आउनेले कुल शरणार्थी दाबीको १३ प्रतिशत हिस्सा ओगटेकाले थप कडा कदम चालिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। एजेन्सी
प्रकाशित: २० फाल्गुन २०८२ ०९:१९ बुधबार