रसुवाको भोटेकोशीमा १० भदौमा बाढी आएको करिब तीन साता पुग्दा पनि हजारौं मानिस सम्पर्कविहीन छन्।
उद्धार तथा खोजी कार्यमा सक्रिय अस्ट्रेलियाका टनेल सुरक्षा इन्जिनियर अर्नोल्ड डिक्स नेपालबाट फर्किएपछि उद्धार अभियानबारे अस्ट्रेलियाको ९न्युजसँगको कुराकानीमा थप जानकारी दिएका छन्।
डिक्सका अनुसार उद्धार टोलीले अहिले धेरै विद्युत् आयोजनामा पुगेर काम गरिरहेको छ। केही मानिसलाई उद्धार गर्न सफल भए पनि समय कम हुँदै गएकाले चुनौती बढेको उनले बताए।
उनले अहिले चीनको सीमातर्फ रहेको चिलिमे क्षेत्रमा उद्धारमा ध्यान केन्द्रित गरिएको बताए। विश्लेषणका क्रममा मानिस जीवित हुन सक्ने सम्भावित क्षेत्र पहिचान भएकाले त्यहाँ सुरुङभित्र खन्ने काम भइरहेको उनको दाबी छ।
सुरुङ नढले पनि माटो र ढुंगाले भरिएकाले एउटा सुरुङभित्र अर्को सुरुङ बनाएर विद्युत् आयोजनाभित्र पुग्ने प्रयास भइरहेको छ।
नेपालमा काम गर्दाको अनुभव आफ्नो करियरकै सबैभन्दा कठिन अवस्थामध्ये एक भएको उनले बताए। साँघुरा पहाडी क्षेत्रमा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने भएकाले उद्धार टोलीलाई हेलिकोप्टरबाटै ओर्लिनुपर्ने अवस्था रहेको उनले सुनाए।
डिक्सले नेपालमा एकै पटक धेरै सुरुङ दुर्घटना भएकाले उद्धार व्यवस्थापन निकै कठिन भएको बताए। उनका अनुसार सुरुङ उद्धारका लागि आवश्यक सामग्री र टोलीलाई दुर्गम क्षेत्रमा पुर्याउनु पनि ठुलो चुनौती थियो।
साथै, विपद्का बेला फैलिएको गलत सूचनाले अवस्था थप पीडादायी बनाएको उनले बताए। विपद्को वास्तविक अवस्थाभन्दा फरक सूचना फैलिँदा स्थानीय मानिसमा थप अन्योल सिर्जना भएको उनको भनाइ छ।
यसअघि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा काम गरेर मानिसलाई बाहिर निकाल्न सफल भएको स्मरण गर्दै डिक्सले अझै पनि आशा छोड्न नहुने बताए। भूमिगत संरचनामा मानिस लामो समयसम्म जीवित रहन सक्ने सम्भावना भएकाले खोजी तथा उद्धार जारी राख्नुपर्ने उनको सुझाव छ।
प्रकाशित: २९ भाद्र २०८३ १३:३५ सोमबार