रूसको पूर्वी क्षेत्रमा पर्ने कमचट्का प्रायद्वीप नजिक ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यसले सो क्षेत्रका कैयन भागमा ठूलो सामुन्द्रिक छाल अर्थात् सुनामी आएको छ । बिबिसीका अनुसार यो भूकम्पको असर जापान र अमेरिकासम्म फैलिएको छ। जापानका फुकुशिमा दाइची र फुकुशिमा दाइनी नामका आणविक प्लान्टहरू सुरक्षाको दृष्टिले बन्द गरिएका छन्।
सन् २०११ मा जापानमा ९ रेक्टर स्कलेको भूकम्प आएपछि फुकुशिमा क्षेत्रमा ठूलो आणविक दुर्घटना भएको थियो। त्यसैले गर्दा अहिले सतर्कता अपनाइएको हो । उता, अमेरिकाले पनि अलास्का र हवाई क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। गुआम र माइक्रोनेशिया का टापुहरूलाई “सुनामी वाच” को सूचीमा राखिएको छ । हवाई राज्यका गभर्नर जोश ग्रिनले जनतालाई शान्त रहन र उचाइ भएको स्थानतर्फ जान अनुरोध गरेका छन्।
यसैगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सुनामी चेतावनीप्रति सतर्क रहन सबैलाई आग्रह गरेका छन्। उता, चीन, फिलिपिन्स, इन्डोनेसिया, गुआम, पेरु र इक्वाडोर नजिकको गालापागोस टापुहरूमा पनि विभिन्न स्तरका सुनामी चेतावनी दिइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार हवाईमा हालसम्म सुनामीको असर देखिएको छैन, तर केही मानिसहरू पहिले नै सुरक्षित स्थानतर्फ जान थालेका छन्।
भूकम्प विज्ञका अनुसार यदि हवाईमा सुनामी आइहाल्यो भने पनि त्यसको असर सीमित हुनेछ र ठूलो विनाश हुने छैन।
जापानको होक्काइडो प्रान्तमा ४० से.मी. उचाइको पहिलो सुनामी लहर मापन गरिएको छ । यो क्षेत्र रूसको पूर्वी सिमानामा पर्छ । सुनामीको असरको कारण जापानको फुकुशिमा दाइची न्यूक्लियर प्लान्ट बन्द गरिएको छ । यी प्लान्टहरूमा रेडियोधर्मी फोहर (न्युक्लियर डेबिज्र) रहेको हुँदा गम्भीर विकिरणको खतरा हुने विज्ञ मान्छन् ।
जापानको तटीय क्षेत्रहरूमा जनतालाई उचाइतर्फ जान र समुद्र तटबाट टाढा रहन सुझाव दिइएको छ। स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गर्न निर्देशन दिएको छ।
उता, ८.८ रेक्टर स्केलको भूकम्पले रूसको सुदूर पूर्वी भागमा केही मानिसलाई घाइते भएकाछन् भने धेरै भवनहरूमा क्षति पु¥याएको छ । सेवेरो कुरिल्स्क क्षेत्रमा सुनामी लहरले बाढी आएको छ। पेत्रोपावलोव्स्क क्षेत्रका केही भवनहरूमा पनि क्षति भएको समाचार सार्वजनिक भएकाछन् ।
सामुन्द्रिक आधी अर्थात सुनामीको एक प्रमुख कारण भूकम्प पनि हो । अन्य कारणमा समुद्रको जमिन धसिनु, ज्वालामुखी विस्फोट, ठूलो विस्फोट वा उल्का खस्नु रहेकाछन् । भूकम्पले समुद्रको सतह हल्लाउँदा पानी माथि उठेर सुनामी लहर बन्छ । यी लहरहरू ३० मिटरसम्म अग्ला हुन सक्छन् र तटमा ठोकिँदा अगाडि पर्ने रुख, जंगल, भवन सबै नष्ट गर्न सक्छन्।
प्रकाशित: १४ श्रावण २०८२ १७:५९ बुधबार