अन्तर्राष्ट्रिय

किमसँग भेट्न ट्रम्प इच्छुक, चीनको भूमिकामाथि प्रश्न

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनबिच सम्भावित शिखर वार्तालाई लिएर चीनको भूमिकाबारे चर्चा बढेको छ। 

अमेरिकी विज्ञहरूले चीनले वार्ता गराउन सक्रिय मध्यस्थता गर्ने सम्भावना कम रहेको बताएका छन्। तर, दक्षिण कोरियाले भने किमको हालैको चीन भ्रमणका क्रममा अमेरिका-उत्तर कोरिया वार्ताबारे छलफल भएको हुन सक्ने आकलन गरेको छ।

ट्रम्पले उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न चासो देखाउँदै आएका छन्। आगामी महिना चीनको सेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा ट्रम्प सहभागी हुने कार्यक्रम छ। त्यस क्रममा किमसँग भेट हुन सक्ने चर्चा भए पनि अहिलेसम्म भेटवार्ताको ठोस तयारी भएको छैन। अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले यसै वर्ष दुई नेताबिच भेट हुने सम्भावना निकै कम रहेको बताए।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का वरिष्ठ सल्लाहकार सिड्नी सेलर अमेरिका र उत्तर कोरिया दुवै पक्षले तत्काल वार्ता गर्नुपर्ने दबाब महसुस नगरेको बताउँछन्। उत्तर कोरियाका लागि पूर्व राष्ट्रिय गुप्तचर अधिकारीसमेत रहेका उनले प्योङयाङले वार्तामा सहभागी हुन हतार नगरेर अमेरिकाको चासो बढाउन र त्यसबाट लाभ लिन सक्ने बताए।

सेलरले चिनियाँ राष्ट्रपति सि जिनपिङले ट्रम्प र किमलाई वार्ताको टेबलमा ल्याउन सक्रिय भूमिका खेल्नेमा शंका व्यक्त गरे। उनका अनुसार चीनले यसका लागि ठुलो राजनीतिक जोखिम लिन चाहेको देखिँदैन।

सीएसआईएसका कोरिया अध्यक्ष भिक्टर चाले पनि चीनले वार्ताका लागि स्थल उपलब्ध गराउन सक्ने भए पनि त्यसलाई सफल बनाउन आवश्यक कूटनीतिक प्रयास गर्न अनिच्छुक हुने बताए। उनका अनुसार चीनले विगतमा उत्तर कोरियामाथि आर्थिक दबाब दिएर वार्ताका लागि प्रोत्साहित गरे पनि कठिन कूटनीतिक चुनौतीको सामना गर्ने जिम्मेवारी अमेरिकामाथि छाडेको थियो।

यद्यपि, दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले किमको हालैको चीन भ्रमणका क्रममा अमेरिका र उत्तर कोरियाबिच वार्ता पुनः सुरु गर्ने विषयमा छलफल भएको हुन सक्ने बताएका छन्। किमको भ्रमणमा अमेरिकासँगको सम्बन्ध हेर्ने अनुभव भएका चिनियाँ उपविदेशमन्त्री मा झाओसुले पनि सहभागिता जनाएकाले यस्तो सम्भावना रहेको उनको भनाइ छ। तर, यसबारे ठोस जानकारी नभएकाले अहिले नै निष्कर्ष निकाल्न नसकिने उनले स्पष्ट पारेका छन्।

किमले गत शनिबार चीनको सीमावर्ती सहर डान्दोङको एकदिने भ्रमण गरेका थिए। उनले चीनका वरिष्ठ राजनीतिक सल्लाहकार वाङ हुनिङसँग भेट गर्नुका साथै युद्ध स्मारक र बस कारखानाको अवलोकन गरेका थिए। यस भ्रमणलाई उत्तर कोरिया र चीनबिचको सम्बन्ध थप बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।

सेलरका अनुसार किमको भ्रमणले चीन र रुस दुवैसँग घनिष्ठ सम्बन्ध कायम राख्न चाहेको सन्देश दिएको हुन सक्छ। रुससँगको सम्बन्ध बलियो बनाउँदै आएका किमले चीनसँगको सम्बन्धलाई पनि महत्त्व दिइरहेको संकेत यसले गरेको उनको आकलन छ।

ट्रम्प र किमबिच भेट भए पनि ठोस सम्झौता हुन नसके दुई देशबिचको सम्बन्ध ६ देखि १२ महिनाभित्र पुनः बिग्रन सक्ने सेलरले चेतावनी दिएका छन्। तर, उत्तर कोरिया हतियार नियन्त्रणजस्ता विषयमा छलफल गर्न तयार भए तनाव घटाउने र कोरियाली प्रायद्वीपलाई थप सुरक्षित बनाउने दिशामा प्रगति हुन सक्ने उनको भनाइ छ।

यसअघि ट्रम्प र किमबिच सन् २०१८ र २०१९ मा तीन पटक भेटवार्ता भएको थियो। ती वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी ठोस सम्झौता गर्न सकेनन्। अहिले पनि प्योङयाङले वार्तामा खासै चासो देखाएको छैन भने वासिङ्टनको प्रयासमा उत्तर कोरियाले जवाफ नदिएको अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्। त्यसैले आगामी एपेक सम्मेलनमा दुई नेताबिच भेट हुने सम्भावना अनिश्चित छ। एजेन्सी

प्रकाशित: ११ कार्तिक २०८३ ०८:३० बुधबार