अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीः युरोपेली देशहरूले विरोध गरेमा ट्यारिफ लगाएरै छोड्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले आफ्नो विरोध गरेमा ट्यारिफ लगाउने धम्कीलाई ‘१०० प्रतिशत’ कार्यान्वयन गर्ने बताएका छन्।

ग्रीनल्यान्डको संप्रभुताको समर्थनमा युरोपका धेरै देशहरू एकजुट भएका छन्। डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले अमेरिकी राष्ट्रपति धम्की दिएर अर्ध–स्वायत्त डेनिस क्षेत्र ग्रीनल्यान्डलाई आफ्नो कब्जामा लिन नसक्ने बताएका छन्।

बेलायतकी विदेशमन्त्री इभेट कुपरले पनि ग्रीनल्यान्डको भविष्य निर्धारण गर्ने अधिकार त्यहाँका जनता र डेनमार्कलाई मात्र भएको स्पष्ट पारेकी छन्।

सोमबार ट्रम्पले ग्रीनल्यान्ड हासिल गर्न बल प्रयोग नगर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरे। उनले बेलायत तथा नाटोका अन्य सात सहयोगी मुलुकबाट अमेरिका आउने सामानमा ट्यारिफ लगाउने योजनामा अघि बढ्ने कुरा पनि प्रस्ट पारे।

एनबीसी न्युजसँगको अन्तर्वार्तामा ग्रीनल्यान्ड कब्जा गर्न शक्ति प्रयोग गरिने हो कि भन्ने प्रश्नमा ट्रम्पले भने, ‘यसमा कुनै टिप्पणी छैन।’

अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार फेब्रुअरी १ देखि बेलायतबाट अमेरिका आयात हुने सबै सामानमा १० प्रतिशत ट्यारिफ लाग्नेछ, जुन जुन १ देखि बढेर २५ प्रतिशत पुग्नेछ। डेनमार्कसँग ग्रीनल्यान्ड खरिदबारे कुनै सम्झौता नभएसम्म यो व्यवस्था लागू रहने उनले बताए।

ट्रम्पले यही नियम डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स र फिनल्यान्डमा पनि लागू हुने बताए। यी सबै देश १९४९ मा स्थापना भएको नाटोका सदस्य हुन्।

युरोपेली संघकी विदेश नीति प्रमुख काया कालासले भनिन्, ‘युरोपेली संघ कसैसँग टकराव चाहँदैन, तर हामी आफ्नो अडानमा दृढ छौँ।’

उनले थपिन्, ‘व्यापारिक धम्की यो समस्या समाधान गर्ने उपाय होइन। संप्रभुता कुनै सौदाबाजीको विषय होइन।’ एजेन्सी

प्रकाशित: ६ माघ २०८२ ०७:३९ मंगलबार