अन्तर्राष्ट्रिय

इरान एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको चेतावनी: उद्धार कार्यलाई भने ‘ऐतिहासिक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्ध प्रभावकारी रूपमा अघि बढिरहेको बताएका छन्। 

सोमबार राति आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाले चाहेमा एकै रातमा इरानलाई ध्वस्त पार्न सक्ने चेतावनी दिए। उनले आवश्यक परेमा त्यस्तो कारबाही भोलि (बुधबार) नै हुन सक्ने समेत उल्लेख गरे।

इरानमा फसेका अमेरिकी पाइलटहरूको उद्धार कार्यलाई उनले ‘ऐतिहासिक’ संज्ञा दिएका छन्। उनले भने, ‘मैले अमेरिकी सेनालाई हाम्रा बहादुर सैनिकहरूलाई सुरक्षित रूपमा घर ल्याउन आवश्यक पर्ने सबै गर्न आदेश दिएको छु।’ १-२ पाइलट बचाउन ठूलो जोखिम लिनुपरेको र यो निर्णय निकै चुनौतीपूर्ण रहेको उनले बताए।

होर्मुज जलमार्ग खोल्न अन्तिम अल्टिमेटम
ट्रम्पले इरानलाई होर्मुजको जलमार्ग खोल्न दिएको समयसीमा नजिकिएको जानकारी दिए। उनले इरानले मार्ग नखोलेमा त्यहाँका पावर प्लान्ट, पुल र अन्य भौतिक पूर्वाधारलाई निशाना बनाउने चेतावनी दिएका छन्। इरानले अमेरिकी सर्त मानेमा मात्र युद्ध रोकिन सक्ने उनको भनाइ छ। ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने अडान समेत दोहोर्‍याए।

उद्धार अभियानका ५ मुख्य पक्ष:
इरानलाई खतरा: अमेरिकाले चाहेमा रातारात इरान सिध्याउन सक्छ। हाल युद्ध अमेरिकाको योजना अनुसार नै भइरहेको छ। 
ठुलो सैन्य परिचालन: सैनिक उद्धारका लागि ठूलो संख्यामा सैन्य विमान परिचालन गरिएको थियो, जसमा लडाकु र बमवर्षक विमानहरू सामेल थिए।
हजारौँ आक्रमण: विगतका दिनहरूमा अमेरिकाले इरानका धेरै लक्ष्यमा आक्रमण गरेको छ।
गोप्य सूचना चुहावटमा कडाइ: दोस्रो पाइलटबारे सूचना चुहाउने व्यक्तिको खोजी भइरहेको र दोषी पत्रकारलाई जेल समेत पठाउन सकिने ट्रम्पले बताए।
विमान खसालिएको स्वीकार: इरानले अमेरिकी एफ-१५ विमान खसालेको स्वीकार गर्दै ट्रम्पले यसलाई ‘भाग्यशाली प्रहार’ मात्र भएको बताए।

जोखिमपूर्ण मिसन र पाइलटको बहादुरी
ट्रम्पका अनुसार यो मिसनमा शत्रुलाई भ्रममा पार्न विभिन्न स्थानमा कृत्रिम वातावरण सिर्जना गरिएको थियो। घाइते पाइलटले गम्भीर अवस्थामा पनि पहाडी भूभाग चढेर शत्रुबाट जोगिन सफल भएको भन्दै उनले प्रशंसा गरे। यो अपरेशनमा केही सैन्य सल्लाहकार सहमत नभए पनि रक्षा सचिव र संयुक्त प्रमुखको समर्थनमा मिसन सफल पारिएको उनले बताए।

नागरिक पीडा र भविष्यको अन्योल
इरानी पूर्वाधारमा आक्रमण गर्दा नागरिकलाई हुने पीडाका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले स्वतन्त्रताका लागि इरानी जनता पीडा सहन तयार रहेको दाबी गरे। उनले इरानबाटै बमबारी जारी राख्न सन्देशहरू आएको समेत जिकिर गरे। युद्ध समाप्त हुने वा अझै बढ्ने भन्ने विषयमा उनले स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘यो इरानको कदममा भर पर्छ।’ होर्मुज जलमार्गका लागि उनले मङ्गलवार राति ८ बजेसम्मको समय दिएको जानकारी दिएका छन्। एजेन्सी

प्रकाशित: २४ चैत्र २०८२ ०८:१३ मंगलबार