अन्तर्राष्ट्रिय

मध्यावधि चुनावमा हारपछि आक्रोषित ट्रम्प: मसँग ‘शक्तिशाली’ भिटो अधिकार छ

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटको समर्थनमा आउने विधेयक रोक्न आफ्नो ‘भिटोको अधिकार’ प्रयोग गर्ने बताएका छन्।

मध्यावधि चुनावको नतिजापछि फक्स न्युजसँग कुरा गर्दै उनले भने, ‘भिटो राष्ट्रपतिसँग भएको सबैभन्दा शक्तिशाली अधिकारमध्ये एक हो। उनीहरूले असम्भव खालका कुरा पठाउनेछन् र म त्यसमा भिटो लगाउनेछु। केही महिनासम्म भिटो भएपछि हामी मिलेर काम गर्ने बाटो खोज्नेछौँ।’

ट्रम्पले थप भने, ‘मसँग भिटोको अधिकार छ र त्यो निकै शक्तिशाली छ।’

उनले केही प्रभावशाली डेमोक्रेट नेतासँग फोनमा कुरा भइसकेको र उनीहरूले पनि छलफल गर्न चाहेको दाबी गरेका छन्।

ट्रम्पले इरानसँगको युद्धले मध्यावधि चुनावको नतिजामा असर पारेको पनि स्वीकार गरे। उनका अनुसार इरान नीतिप्रति धेरैले समर्थन गरे पनि बढ्दो पेट्रोल मूल्यजस्ता तत्कालका असर स्वीकार गर्न मतदाता तयार भएनन्।

उनले भने, ‘इतिहासले हेर्दा मैले सही काम गरेको ठहर गर्नेछ, तर यसले हाम्रो लागि सुखद चुनावी रात भने बनाएन।’

आठ महिनादेखिको युद्ध, बढ्दो ऊर्जा मूल्य, आर्थिक अनिश्चितता र जीवनयापनको महँगीले रिपब्लिकनलाई राजनीतिक रूपमा असर गरेको बताइएको छ। डेमोक्रेटले पनि युद्धलाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका थिए।

ट्रम्पले डेमोक्रेटलाई चुनावी जितका लागि बधाई दिँदै नतिजालाई आफ्नो नेतृत्वप्रतिको अस्वीकृति भने नमानेको बताए। उनले चुनावी नतिजा स्वीकार गर्ने पनि बताएका छन्।

प्रारम्भिक नतिजाअनुसार ट्रम्पप्रति मतदाताको असन्तुष्टि देखिएको छ। धेरै मतदाताले प्रतिनिधिसभाको मतदानमा ट्रम्पको प्रभावलाई नकारात्मक रूपमा लिएको बताएका छन्।

प्रकाशित: १८ कार्तिक २०८३ १२:१७ बुधबार