अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टाइनको जन्मदिनको पुस्तकमा आफ्नो नाम जोडिएको पत्रबारे समाचार प्रकाशित गरेको भन्दै वाल स्ट्रिट जर्नलविरुद्ध दायर गरेको २० अर्ब डलरको मानहानि मुद्दा अदालतले खारेज गरेको छ।
मियामीका अमेरिकी जिल्ला न्यायाधीश ड्यारिन गेल्सले शनिबार २० पृष्ठको फैसला सुनाउँदै मुद्दा स्थायी रूपमा खारेज गरेका हुन्। अदालतले ट्रम्पले वाल स्ट्रिट जर्नल र अन्य प्रतिवादीले वास्तविक द्वेषका साथ मानहानि हुने सामग्री प्रकाशित गरेको प्रमाणित गर्न नसकेको ठहर गरेको छ।
न्यायाधीशले ट्रम्पको कानुनी टोलीले पत्रिकाको समाचारमा त्रुटि रहेको देखाउन पर्याप्त आधार प्रस्तुत गर्न नसकेको टिप्पणी गरेका छन्। सार्वजनिक व्यक्तित्वले मानहानिको मुद्दा जित्न समाचार प्रकाशित गर्ने पक्षले सामग्री झुटो हो भन्ने थाहा हुँदाहुँदै प्रकाशित गरेको वा सत्यताबारे गम्भीर बेवास्ता गरेको प्रमाणित गर्नुपर्छ।
मुद्दा स्थायी रूपमा खारेज भएकाले ट्रम्पले यही विषयमा फेरि मुद्दा दायर गर्न पाउने छैनन्। यद्यपि, ट्रम्पको कानुनी टोलीले फैसलाविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ।
ट्रम्पको कानुनी टोलीका प्रवक्ताले भने राष्ट्रपति मुद्दामा अगाडि बढिरहने बताएका छन्। उनले वाल स्ट्रिट जर्नल र अन्य प्रतिवादीलाई अमेरिकी जनतालाई भ्रमित पारेको भन्दै जवाफदेही बनाउने बताए।
यो मुद्दा वाल स्ट्रिट जर्नलले गत वर्ष प्रकाशित गरेको एउटा समाचारसँग सम्बन्धित छ। समाचारमा सन् २००३ मा एपस्टाइनको ५०औं जन्मदिनका लागि तयार पारिएको पुस्तकमा ट्रम्पको नाम रहेको यौन संकेतयुक्त पत्र समावेश भएको उल्लेख गरिएको थियो।
ट्रम्पले उक्त समाचारलाई झुटो भन्दै वाल स्ट्रिट जर्नल, यसको मूल कम्पनी न्युज कर्प, कम्पनीका प्रमुख कार्यकारी, समाचार लेख्ने पत्रकार र रूपर्ट मर्डोकविरुद्ध २० अर्ब डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए।
पछि अमेरिकी संसद्का सदस्यहरूले एपस्टाइनको सम्पत्तिबाट जन्मदिनको पुस्तकको सम्पादित प्रति प्राप्त गरेका थिए। त्यसमा ट्रम्पको मुद्दाको केन्द्रमा रहेको पत्र पनि समावेश थियो। तत्कालीन ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भने ट्रम्पले उक्त चित्र नबनाएको र त्यसमा हस्ताक्षर पनि नगरेको बताएकी थिइन्।
यसअघि अप्रिलमा पनि न्यायाधीश गेल्सले ट्रम्पको कानुनी टोलीले आवश्यक प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै मुद्दा खारेज गरेका थिए। त्यसपछि ट्रम्पको टोलीले पुनः मुद्दा दायर गरेको थियो। अहिले अदालतले त्यसलाई फेरि खारेज गर्दै स्थायी रूपमा मुद्दा टुंग्याएको हो।
प्रकाशित: १५ कार्तिक २०८३ ०८:१२ आइतबार