अन्तर्राष्ट्रिय

ट्रम्पले भारत-पाक युद्ध रोके, नोबेल पुरस्कार दिनुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारत र पाकिस्तानबिचको युद्ध रोक्ने श्रेय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएका छन्। 

उनले भने, ‘पाकिस्तानले आफ्नो पूर्वी सीमामा शत्रुको उत्तेजनाको जवाफ दियो। पाकिस्तानले भारतलाई पहलगाम आक्रमणको निष्पक्ष अनुसन्धानको प्रस्ताव गरेको थियो।’

उनले थप भने, ‘पाकिस्तानले आफ्ना संस्थापक कायद-ए-आजम मुहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार संवाद र वार्ताबाट हरेक समस्या समाधान गर्न चाहन्छ।’

शरीफका अनुसार भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गर्‍यो। उनले भने, ‘पाकिस्तानले बाह्य आक्रमणबाट आफ्नो पूर्ण रक्षा गर्नेछ।’

उनले भने, ‘हामीले भारतसँग युद्ध जितेका छौँ, अब हामी शान्ति चाहन्छौँ। पाकिस्तान सबै बाँकी रहेका मुद्दाहरूमा भारतसँग व्यापक र प्रभावकारी वार्ता गर्न तयार छ।’

पाकिस्तानको विदेश नीति पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको भन्दै उनले विवादहरूको शान्तिपूर्ण समाधान चाहेको जानकारी गराए। 

युद्धमा ट्रम्पको भूमिबारे कुरा गर्दै उनले भने, ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तान र भारतबिचको तनावमा हस्तक्षेप नगरेको भए, युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो।’ शरीफले भने, ‘पाकिस्तान र भारतबिच युद्ध रोक्ने काममा ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ।’ 

तर भारतले भारत-पाकिस्तान द्वन्द्व रोक्न कुनै तेस्रो पक्षको भूमिका रहेको कुरालाई अस्वीकार गर्दै आएको छ। हालै एक अन्तर्वार्तामा भारतीय विदेश मन्त्री एस जयशङ्करले भनेका थिए, ‘धेरै वर्षदेखि पाकिस्तानसँगका हाम्रा सबै मुद्दाहरू पारस्परिक अर्थात् द्विपक्षीय छन् भन्ने कुरामा राष्ट्रिय सहमति रहेको छ।’ एजेन्सी

प्रकाशित: ११ आश्विन २०८२ ०८:४९ शनिबार