अन्तर्राष्ट्रिय

भारतप्रति नम्र हुँदै ट्रम्पले भने : म सधैँ मोदीको साथी, मोदीले पनि फर्काए जवाफ

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भारतविरुद्ध दिएको बयानबाट करिब १२ घण्टामा पछाडि हटेका छन्। ह्वाइट हाउसमा साँझ ६–७ बजे पत्रकार सम्मेलनमा उनले भने, ‘म सधैँ मोदीको साथी रहनेछु। म भारतसँग सम्बन्ध पुनर्स्थापित गर्न सधैँ तयार छु।’

यसअघि शुक्रबार उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यस्तो लाग्छ कि हामीले भारत र रुसलाई चीनसँग हारिसकेका छौं। आशा छ उनीहरूको भविष्य राम्रो हुनेछ।’

मोदी आफ्नो साथी भएको भन्दै भारतसँग सम्बन्ध पुनर्स्थापित गर्न चाहेका ट्रम्पलाई जवाफ फर्काउँदै मोदीले पूर्ण समर्थन गर्ने बताए। उनले एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धमा उनको विचारको पूर्ण हृदयले कदर गर्छु। उनलाई पूर्ण समर्थन गर्छु।’ उनले अगाडि भनेका छन्, ‘भारत–अमेरिकाबिच सकारात्मक र दूरदर्शी रणनीतिक साझेदारी छ।’

पत्रकार सम्मेलनमा ट्रम्पले भारत र अन्य देशसँगको व्यापार वार्तालाई राम्रो बताएका छन्। तर युरोपेली संघले गुगललाई तीन अर्ब ५० करोड डलर जरिवाना लगाएकोमा असन्तुष्टि व्यक्त गरे। उनले भारतले रूसी तेल किनेकोमा निराशा व्यक्त गर्दै भनेका थिए, ‘यसका लागि हामीले भारतमा ५० प्रतिशतको ठूलो भन्सार लगाएका छौँ।’

प्रकाशित: २१ भाद्र २०८२ ११:४९ शनिबार