अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीको प्रहरी विभागलाई संघीय नियन्त्रणमा ल्याउने र राष्ट्रिय गार्ड परिचालन गर्ने घोषणा गरेका छन्।
उनले राजधानीमा सार्वजनिक सुरक्षा कायम गर्न यो कदम चालेका हुन्। साथै, न्यूयोर्क, सिकागो र डीसीमा नगद जमानत प्रणाली सुधार्ने योजना अघि सारेका छन्।
नगद जमानत (क्यास बेल) अमेरिकाको न्यायिक प्रणालीमा प्रयोग हुने व्यवस्था हो, जसमा पक्राउ परेका व्यक्तिलाई छुटाउन निश्चित रकम अदालतमा जम्मा गरिन्छ। यो रकमले सुनिश्चित गर्छ कि व्यक्ति सुनुवाइमा उपस्थित हुन्छ। ट्रम्पले वासिङ्टन डीसी, न्यूयोर्क, र सिकागोमा यो प्रणाली सुधार्ने वा हटाउने योजना बनाएका छन्। यो हटाउँदा अपराध बढेको उनले दाबी गरे।
ह्वाइट हाउसमा ट्रम्पले भने, ‘स्थानीय नेतृत्वको असफलताले सुरक्षा सङ्कट निम्त्याएको छ। नगद जमानत हटाएर अपराध बढ्यो।’ उनले कङ्ग्रेसको सहयोगमा यो प्रणाली परिवर्तन गर्ने र रिपब्लिकनहरूलाई मतदान गराउने बताए।
सन् १९७३ को गृह नियम ऐनअनुसार ट्रम्पले डीसी प्रहरीमाथि ४८ घण्टासम्म नियन्त्रण लिएका छन्। लामो नियन्त्रणका लागि कङ्ग्रेसको स्वीकृति चाहिन्छ। ‘हामी डीसीमा कानुन र व्यवस्था पुनर्स्थापित गर्नेछौँ,’ उनले भने।
डीसीमा सन् १९९२ देखि नगद जमानत हटाइएको थियो। तथ्याङ्कअनुसार २०२५ मा हिंसात्मक अपराध २६ प्रतिशतले घटेको छ। एजेन्सी
प्रकाशित: २६ श्रावण २०८२ २१:३४ सोमबार



