अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको विरोध प्रदर्शनलाई खुलेर समर्थन गरेपछि तेहरानले पनि कडा जवाफ दिएको छ। ट्रम्पले शुक्रबार यदि शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएर मारिए अमेरिका उनीहरूको उद्धारमा आउने धम्की दिएका थिए।
इरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ट्रम्पको यो अभिव्यक्तिको निन्दा गरेको हो। उसले यसलाई आफ्नो आन्तरिक मामिलामा खुला हस्तक्षेप भनेको छ।
ट्रम्पले भनेका थिए, ‘यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाउँछ र हिंसात्मक रूपमा मार्छ, जुन उनीहरूको बानी नै हो, भने अमेरिका उनीहरूको उद्धारमा आउनेछ। हामी तयार छौं र जान तयार छौं।’
इरानको विदेश मन्त्रालयले ट्रम्पको भनाइलाई ‘गैरजिम्मेवार मनोवृत्ति’ भन्दै भनेको छ, ‘यो इरानप्रति अमेरिकाको धम्की र गैरकानूनी मनोवृत्तिको विस्तार हो। यो संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्तहरूको घोर उल्लङ्घन मात्र होइन, इरानी नागरिकहरूमाथि हिंसा र आतंकवादलाई उक्साउनु पनि हो।’
मन्त्रालयले थप चेतावनी दिएको छ, ‘यस्तो अवस्थाले सम्पूर्ण क्षेत्रलाई अझ अस्थिर बनाउन सक्छ र यसको पूर्ण जिम्मेवारी अमेरिकी सरकारको हुनेछ।’
इरानमा गत एक हप्तादेखि आर्थिक संकट, मुद्रास्फीति र रियालको मूल्यमा भयंकर गिरावटका कारण विरोध प्रदर्शन भइरहेको छ। धेरै सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच हिंसात्मक झडप भएको छ। यी झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं पक्राउ परेका छन्। प्रदर्शन आर्थिक मुद्दाबाट सुरु भएको भए पनि अब राजनीतिक नारा लगाउँदै सर्वोच्च नेता अली खामेनेईको सत्ता अन्त्यको मागसम्म पुगेको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: १९ पुस २०८२ ०८:१६ शनिबार