गाजामा रोकिएको युद्धविराम प्रक्रियालाई अघि बढाउने उद्देश्यले अमेरिकी वार्ताकार जेरेड कुशनरले हमासका नेतासँग दुर्लभ भेटवार्ता गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँसमेत रहेका कुशनरले आइतबार इजिप्टमा हमासका नेता खलील अल-हय्यासँग दुई घण्टाभन्दा बढी समय छलफल गरेका हुन्।
यो भेटवार्ताको मुख्य उद्देश्य हमासलाई निशस्त्रीकरण गर्ने र इजरायललाई युद्धले थलिएको प्यालेस्टिनी भूभागबाट फिर्ता गराउने अमेरिका-समर्थित १५-बुँदे योजनालाई कार्यान्वयनमा ल्याउनु हो। स्रोतका अनुसार कुशनरले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग पनि भेट गर्नेछन्।
हालै नेतान्याहूले अमेरिकाको यो शान्ति योजनालाई अस्वीकार गरेका थिए, जसले गर्दा उनीमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ। नेतान्याहूले 'हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट पछाडि नहट्ने' अडान दोहोर्याएका थिए।
उता, हमासले भने शान्ति योजनाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। हमासका एक अधिकारीका अनुसार समूहले १४ दिने वार्ताको प्रतीक्षा गरिरहेको छ, जसमा रोडम्याप कार्यान्वयनको समयतालिका तय गरिनेछ। हमासले इजरायलले आक्रमण रोक्नुपर्ने र गाजा क्षेत्रलाई विभाजन गर्ने तथाकथित 'एलो लाइन' बाट सेना पछि हट्नुपर्ने माग राखेको छ।
यस विषयमा क्षेत्रीय शक्ति राष्ट्रहरूले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, जोर्डन, पाकिस्तान र इन्डोनेसिया लगायतका देशहरूले इजरायलले शान्ति प्रयासमा बाधा पुर्याएको आरोप लगाएका छन्। एक विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, 'इजरायलले अब गाजामा शान्ति ल्याउने प्रयासमा बाधा पुर्याउने जिम्मेवारी लिनुपर्छ।'
१५-बुँदे योजनाअनुसार हमासले आफ्ना हतियारहरू त्याग्नुपर्ने छ र शासन व्यवस्था प्यालेस्टिनी टेक्नोक्रेटिक समितिलाई सुम्पिनुपर्ने छ। त्यसको बदलामा इजरायलले आक्रमण रोकेर गाजाबाट बिस्तारै फिर्ता हुनेछ। तर, हतियार आत्मसमर्पण र प्यालेस्टिनी राज्य निर्माणको विषयमा इजरायल र हमासबिच ठुलो मतभेद कायमै छ।
अक्टोबर ७, २०२३ मा सुरु भएको यस द्वन्द्वका कारण हालसम्म गाजामा ठुलो मानवीय क्षति भइसकेको छ। ट्रम्प प्रशासनले अघि सारेको यस शान्ति योजना सफल हुन्छ वा हुँदैन भन्ने कुरा अब हुने उच्चस्तरीय भेटवार्तामा निर्भर रहने देखिएको छ। एजेन्सी
प्रकाशित: १ भाद्र २०८३ ०७:३२ सोमबार