अन्तर्राष्ट्रिय

इजरायमा मतगणना जारी रहँदा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आफ्नो समर्थनले चुनावमा फाइदा पुगेको दाबी गरेका छन्।

इजरायलमा मतगणना जारी रहेका बेला ट्रम्पले आफ्नो समर्थनपछि नेतान्याहूको चुनावी अवस्था सुधारिएको बताएका हुन्।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै नेतान्याहूले ठुलो हार बेहोर्ने अनुमान उल्टिएको र अहिले उनको जित वा बराबरीको सम्भावना देखिएको उल्लेख गरेका छन्। आफ्नो समर्थनले मध्यपूर्व, इजरायल र अमेरिकाका लागि राम्रो परिणाम ल्याउने उद्देश्य राखेको पनि ट्रम्पले बताएका छन्।

टेक्सासमा आयोजित र्‍यालीपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले प्रारम्भिक मत सर्वेक्षण (एक्जिट पोल) मा नेतान्याहू राम्रो अवस्थामा देखिएको बताएका थिए। 

उनले भने, ‘मैले सुनेअनुसार प्रारम्भिक मत सर्वेक्षणमा उनी निकै राम्रो गरिरहेका थिए। मेरो समर्थन सार्वजनिक भएपछि त्यसले उनलाई धेरै मद्दत गरेको जस्तो लाग्छ।’

मतगणना सुरु भएपछि नेतान्याहूसँग कुराकानी भएको छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले आफूले उनीसँग कुरा नगरेको बताए।

इजरायलको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, स्थानीय समयअनुसार बिहान ७:५८ बजेसम्म ५७.३ प्रतिशत मत गणना हुँदा नेतान्याहू समर्थक गठबन्धनले ५५ सिट र विपक्षी समूहले ४९ सिट पाउने देखिएको छ।

बाँकी १६ सिट मुख्यतः अरब दलहरूको भागमा पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

रिजर्भिस्ट, पिपल अफ इजरायल र खरेदी पब्लिकजस्ता केही दलले संसदमा प्रवेशका लागि आवश्यक ३.२५ प्रतिशत मतको सीमा पार गर्न सकेका छैनन्। सैनिकलगायतका मतदाताले खसालेका मत गणना हुन बाँकी रहेकाले अन्तिम नतिजा परिवर्तन हुन सक्नेछ।

प्रकाशित: ११ कार्तिक २०८३ १२:०९ बुधबार