अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा बिहीबार (स्थानीय समय) ह्वाइट हाउसमा भव्य राजकीय रात्रिभोज आयोजना गरेका छन्।
कार्यक्रममा अर्बपति, व्यापारिक नेता र प्रविधि क्षेत्रका चर्चित व्यक्तिहरू सहभागी भएका थिए।
रात्रिभोजका क्रममा ट्रम्पले अमेरिका र चीन फरक प्रणालीमा रहे पनि दुई देशका जनताबिचको सम्बन्ध कायम रहेको बताए। ‘राष्ट्रपति सी र म दुवैले हामी फरक प्रणालीको प्रतिनिधित्व गर्छौं भन्ने बुझेका छौं, तर हाम्रा जनताबिचको सम्बन्ध कायम छ,’ ट्रम्पले भने।
सीले पनि अमेरिका र चीनका लक्ष्य एकअर्कालाई सहयोग पुग्ने खालका रहेको बताए। उनले ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने प्रतिबद्धता जनाएको र चीन पनि राष्ट्रिय पुनरुत्थानका लागि प्रतिबद्ध रहेको बताए।
रात्रिभोजमा ओपनएआईका सीईओ साम अल्टम्यान, एनभिडियाका सीईओ जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क, गुगलका सीईओ सुन्दर पिचाई, ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान र डेल टेक्नोलोजीका सीईओ माइकल डेललगायत सहभागी थिए।
ट्रम्पले रात्रिभोजका क्रममा ह्वाइट हाउसमा निर्माण भइरहेको बलरुमको पनि चर्चा गरे। उनले सहभागीलाई रात्रिभोजपछि निर्माणस्थल हेर्न जान सक्ने बताए। ट्रम्पले उक्त भवनलाई ‘संयुक्त राज्य अमेरिकाको ग्रेट हल’ भन्दै चीनको बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’सँग तुलना गर्दै आएका छन्। उनले सीलाई आफू र मेलानियाको सहकार्यमा डिजाइन गरिएको चीलको मूर्ति उपहार दिए।
रात्रिभोजको मेनुमा पहेँलो स्क्वास भेलुटे, जंगली च्याउ, ताजा जडीबुटी र क्रिस्पी प्यान्सेटासहितको परिकार थियो। त्यसपछि तिलले लेप गरिएको सी बास, बेबी बोक चोय र रोस्टेड एग्प्लान्ट राखिएको थियो। मिठाईमा भेनिला क्रेमक्स, खट्टा चेरी कन्फिट, ओखर फ्रान्जिपेन र ह्वाइट हाउसको महसहितको आइसक्रिम थियो।
रात्रिभोजअघि ट्रम्पले बुधबार वाशिंगटनबाहिर जोइन्ट बेस एन्ड्रयूजमा पुग्दा सी र उनकी श्रीमती पेङ लियुआनलाई व्यक्तिगत रूपमा स्वागत गरेका थिए। सी तीन दिने वाशिंगटन भ्रमणमा छन्।
तस्बिर : एपी
प्रकाशित: ९ आश्विन २०८३ १०:०५ शुक्रबार