अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले युक्रेनको पहिलो आधिकारिक भ्रमण गरेका छन्।
आइतबार राजधानी कीभमा भएको वार्तालाई उनीहरूले उत्साहजनक बताए पनि रूस-युक्रेन युद्ध अन्त्य गर्ने दिशामा कुनै ठोस सफलता भने हासिल भएन।
युद्ध अन्त्य गर्ने अमेरिकी प्रयास पछिल्लो समय सुस्त भएको छ। शनिबार मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेपछि विटकफ र कुशनर आइतबार कीभ पुगेका हुन्। रूस र युक्रेनबिचको युद्ध चार वर्षभन्दा बढी समयदेखि जारी छ। पछिल्लो समय दुवै पक्षले हवाई आक्रमण बढाएका छन्।
रूस र युक्रेनका मुख्य माग, विशेषगरी क्षेत्रीय विषयमा अझै फरक छन्। कुशनरले अमेरिकाले सम्भावित सम्झौताका लागि पर्दापछाडि रहेर काम गरिरहेको बताए। उनले भने, ‘यो निकै कठिन समस्या हो, तर हामी प्रयास गर्नेछौं।’
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी दूतहरूसँग तीन चरणमा वार्ता गरे। अन्तिम चरणमा बेलायत, फ्रान्स र जर्मनीका राष्ट्रिय सुरक्षा सल्लाहकार पनि सहभागी भएका थिए। वार्तामा प्याट्रियट क्षेप्यास्त्र प्रणालीसहित हवाई सुरक्षा, ऊर्जा पूर्वाधार र आगामी जाडोका लागि आवश्यक सहयोगबारे छलफल भएको उनको भनाइ छ।
जेलेन्स्कीका अनुसार अमेरिकाले अर्को वर्ष प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रको उत्पादन बढाउने योजना बनाएको छ। जर्मनीले पनि विद्यमान सम्झौताअनुसार आफ्नो उत्पादन बढाउने भएको छ। युक्रेनले रूसका तीव्र गतिका ड्रोन रोक्न ६७ वटा घरेलु कम्पनीसँग मिलेर प्रणाली विकास गरिरहेको पनि उनले जानकारी दिए।
क्षेत्रीय विषय अझै महत्त्वपूर्ण रहेको बताउँदै जेलेन्स्कीले यस्ता कठिन विषय नेताहरूको तहबाट मात्र समाधान गर्न सकिने बताए। वार्तामा युक्रेनको दीर्घकालीन सुरक्षा ग्यारेन्टी र युद्धपछिको पुनर्निर्माणका लागि आर्थिक सहयोगबारे पनि छलफल भएको जेलेन्स्कीले जानकारी दिए। उनका अनुसार युक्रेन, अमेरिका र युरोपबिच अर्को बैठक गर्ने सहमति भए पनि स्थान तय भएको छैन।
विटकफले अमेरिकाले युद्धको सैन्य समाधान नभई कूटनीतिक समाधान खोजिरहेको बताए। उनले पुटिनसँग शनिबार भएको वार्ताबाट केही नयाँ विचार आएको र ती विचार कीभमा ल्याइएको सुनाए। कुशनरले पनि अमेरिकाको लक्ष्य युद्ध अन्त्य मात्र नभई दीर्घकालीन शान्तिका लागि आधार तयार गर्नु रहेको बताए।
मस्कोमा शनिबार पुटिनसँग भएको वार्ता तीन घण्टाभन्दा बढी चलेको थियो। वार्तापछि कुनै ठुलो उपलब्धि घोषणा भएन। पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले वार्तालाई रचनात्मक, स्पष्ट र उपयोगीको संज्ञा दिएका थिए। उनका अनुसार रूस र अमेरिकाबिच सम्भावित आर्थिक सहकार्यका विषयमा पनि छलफल भएको थियो।
यसबिच रूस र युक्रेनबिच हवाई आक्रमण जारी छ। युक्रेनको सेनाले रूसले प्रहार गरेका १०८ ड्रोनमध्ये ८२ वटा र ६ वटा क्षेप्यास्त्र रोकेको जनाएको छ। रूसको रक्षा मन्त्रालयले भने १४ रूसी क्षेत्रमा, कब्जामा रहेको क्रिमिया तथा ब्ल्याक र अजोभ सागर क्षेत्रमा २५८ युक्रेनी ड्रोन खसालेको जनाएको छ।
रूसी आक्रमणमा युक्रेनका विभिन्न क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन्। जापोरिझियामा ड्रोन आक्रमणमा ७४ वर्षीय एक पुरुषको मृत्यु भएको हो। खमेलनित्स्की क्षेत्रमा अपार्टमेन्टमा भएको आक्रमणमा सात जना घाइते भएका छन्।
युक्रेनमा वार्ताबाट युद्ध अन्त्य हुने आशा गरिए पनि सबैमा यस्तो विश्वास देखिएको छैन। कीभमा युद्धमा मारिएका सैनिकको सम्झनामा आयोजित मौनधारण कार्यक्रममा सहभागी केहीले वार्ताबाट ठोस परिणाम आउने आशा व्यक्त गरेका छन्।
तर केहीले अमेरिकी दूतहरूको भ्रमणले युद्धको अवस्था परिवर्तन गर्नेमा शंका व्यक्त गरेका छन्। पोप लियो चौधौंले पनि वार्ताबाट ठोस परिणाम आउने र कूटनीतिको बाटो खुल्ने आशा व्यक्त गरेका छन्। एजेन्सी
प्रकाशित: २२ भाद्र २०८३ ०८:४६ सोमबार