अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनीले अप्रिलदेखि जुन महिनाको त्रैमासिक अवधिमा २३८ मिलियन डलर घाटा व्यहोरेको छ।
मुख्यतया डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) र सेयर बजारका लगानीको मूल्यमा आएको गिरावटका कारण कम्पनीले यो घाटा बेहोर्नु परेको हो। 'ट्रुथ सोसल' प्लेटफर्म सञ्चालन गर्ने ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपका अनुसार यो घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० गुणाभन्दा बढी हो।
कम्पनीले अब मिडियाबाहेकका अन्य क्षेत्रबाट ध्यान हटाएर फेरि मुख्य रूपमा सामाजिक सञ्जालमै केन्द्रित हुने घोषणा गरेको छ। यसअघि प्लेटफर्मका चर्चित प्रयोगकर्ताहरूका पोस्ट छिटो हेर्न मिल्ने गरी ल्याइएको विवादास्पद सेवालाई भने कम्पनीले निरन्तरता दिएको छ।
बीबीसीका अनुसार कम्पनीका प्रमुख केभिन म्याकगर्नले सोमबार १० भन्दा बढी ग्राहकले यो सेवा प्रयोग गर्नका लागि नाम दर्ता गराइसकेको बताएका छन्। समीक्षा अवधिमा कम्पनीले १.७ मिलियन डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशतले बढी हो। तर, क्रिप्टोकरेन्सीको मूल्य घटेका कारण समग्र आर्थिक विवरणमा भने ठूलो घाटा देखिएको कम्पनीको भनाइ छ।
जुन मसान्तसम्म आइपुग्दा कम्पनीसँग कुल सम्पत्ति दुई अर्ब डलर र नगद तथा डिजिटल मुद्राहरूसहित करिब १.९ अर्ब डलरको वित्तीय सम्पत्ति सुरक्षित रहेको छ। क्रिप्टोकरन्सी र स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा हात हाले पनि यो समूहले अहिलेसम्म समग्रमा नाफा कमाउन भने सकेको छैन।
विश्लेषक मार्कस थिएलेनले भने, 'ट्रम्प मिडिया बाहिरबाट हेर्दा मिडिया कम्पनी जस्तो देखिए पनि यो खासमा क्रिप्टोको कारोबार गर्ने फर्म हो र यसको ठूलो घाटा पनि त्यही रणनीतिको कारण भएको हो।' उनले थपे, 'कम्पनीले सामाजिक सञ्जाल जस्ता क्षेत्रमा पनि काम गरिरहेको छ, तर तिनले अझै उल्लेख्य आम्दानी दिन सकेका छैनन्।'
जुलाई महिनामा ट्रम्प मिडियाले वाल स्ट्रिटका व्यापारीहरूलाई ट्रुथ सोसलमा आउने पोस्टहरू छिटो हेर्न पाउने योजना ल्याएको थियो। ट्रम्पले आफ्ना धेरैजसो घोषणा यही प्लेटफर्मबाट गर्ने हुनाले, व्यापारीहरूलाई छिटो सूचना दिएर शेयर बजारमा फाइदा दिलाउने उद्देश्यले यो सेवा तयार पारिएको हो।
तर, ट्रम्पको परिवारको मुख्य लगानी रहेको कम्पनीले आफ्नै पोस्टमार्फत फाइदा लिन खोजेको यो कदमले कानुनी र नैतिक प्रश्नहरू खडा गरेको छ। कम्पनीले सोमबार जारी गरेको विवरणमा भनिएको छ, 'यो नयाँ सेवाले कम्पनीलाई आगामी दिनमा थप आम्दानी दिन सक्नेछ।'
म्याकगर्नले भनेका छन्, 'म यो कामप्रति उत्साहित छु। हामी नयाँ चरणमा प्रवेश गर्दै गर्दा लगानीकर्ताहरूले हरेक त्रैमासिकमा हामीबाट प्रगतिको खबर सुन्न पाउनुपर्छ।'
प्रकाशित: २६ श्रावण २०८३ १०:०३ मंगलबार