अमेरिका र इरानबिचको तनाव फेरि चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यो तेहरानका लागि पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्ने ‘अन्तिम मौका’ भएको दाबी गरेका छन्। तर इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभएको प्रस्ट पार्दै यो दाबीलाई सीधै अस्वीकार गरेको छ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानलाई सम्झौतामा पुग्नका लागि ‘अन्तिम मौका’ दिएको बताएका छन्। उनले भने, ‘म उनीहरूलाई शिर काट्नुअघि अन्तिम मौका दिन चाहन्छु।’ ट्रम्पका अनुसार इरानी अधिकारीहरूले नियोजित सैन्य कारबाहीको सुइँको पाएपछि सीधै फोन गरेका थिए। उनले थपे, ‘आशा छ तिनीहरू होसमा आउनेछन्। त्यसैले उनीहरूले मलाई बोलाए, र भने- कृपया आक्रमण नगर्नुहोस्। हामी सम्झौता गर्नेछौं। वास्तविक सत्य यही हो।’ साथै खाडी सहयोगीहरू (साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारलगायत) को आग्रहमा आफूले इरानविरुद्धका ठूला आक्रमणहरू हाललाई स्थगित गरेको पनि उनले बताए। ट्रम्पले यसलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण हुनसक्ने दाबी गरेका थिए।
ट्रम्पको यो दाबीविपरीत इरानले वाशिङटनसँग कुनै पनि वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नरहेको दोहोर्याएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले ओमानसँग मात्र होर्मुज जलमार्गको व्यवस्थापन र अस्थायी सुरक्षित मार्गबारे रचनात्मक छलफल भइरहेको बताए। इरानले विदेशी प्रतिनिधिमण्डललाई स्वागत गर्ने वा वार्ताकार पठाउने कुनै योजना नराखेको स्पष्ट पारे।
यो युद्ध सन् २०२६ को फेब्रुअरी अन्त्यतिर सुरु भएको थियो। अमेरिका र इजरायलले इरानका सैन्य र आणविक केन्द्रमा आक्रमण गरेपछि तनाव बढेको हो। इरानले मध्यपूर्वको व्यापार मार्ग र ऊर्जा पूर्वाधारलाई दबाबको माध्यम बनाउँदै आएको छ भने अमेरिकाले होर्मुज जलमार्गमा पूर्ण नियन्त्रण रहेको दाबी गर्दै आएको छ। होर्मुज विश्वको कच्चा तेल व्यापारको प्रमुख मार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास पास हुन्छ।
ट्रम्पले वार्ताको पहिलो चरणमा होर्मुज जलमार्ग खोल्ने र दोस्रो चरणमा इरानको आणविक कार्यक्रमबारे छलफल गर्ने बताएका छन्। तर इरानले हाल आणविक मुद्दालाई प्राथमिकता नदिएको र युद्ध अन्त्यलाई मुख्य मुद्दा बनाएको जनाएको छ। यसअघि पनि दुवै पक्षबिच अप्रत्यक्ष वार्ताका प्रयासहरू भएका थिए। तर बारम्बार विरोधाभासी बयानबाजीले ती प्रयास असफल भएका छन्।
विश्लेषकहरूका अनुसार यस्ता विरोधाभासी बयान र अमेरिकी नाकाबन्दीका कारण तत्काल कूटनीतिक समाधान निस्कने सम्भावना झन् जटिल बनेको छ। तनावका बिच पछिल्लो समय कच्चा तेलको मूल्यमा भने केही गिरावट आएको छ, जसले बजारमा केही राहत दिएको देखिन्छ।
दुवै पक्षको अडान अहिलेसम्म नरम भएको छैन। ट्रम्पले बारम्बार ‘अन्तिम मौका’ को कुरा गरे पनि विगतमा पनि यस्तै चेतावनी दिएर आक्रमण स्थगित गरेका उदाहरणहरू छन्। इरानले भने आफ्नो सार्वभौमिकता र हितको रक्षा गर्दै कुनै पनि दबाब स्वीकार नगर्ने अडान दोहोर्याएको छ। यस अवस्थामा मध्यपूर्वको स्थिरता र विश्व ऊर्जा बजारको भविष्य अझै अनिश्चित देखिन्छ।
प्रकाशित: १९ श्रावण २०८३ ०७:१४ मंगलबार