अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका लागि जासुसी गरेको आशंका गरिएकी महिलाबारे टिप्पणी गर्दै चीनबाट आउने सबै सुन्दर महिला 'जासुस' नहुने तर्क गरेका छन्।
फिलिपिन्स र चीनको भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चिनियाँ नागरिक एलिस हुआङ जासुस हुन् भन्ने विषयमा आफूलाई जानकारी नभएको बताएका हुन्।
सोही क्रममा उनले एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउने विषयमा पनि समर्थन जनाएका छन्।
एलिसबारे सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘सामान्यतया चीनबाट अमेरिका आउने कुनै पनि सुन्दर महिलालाई जासुस भन्ने गरिन्छ। तर, उनी जासुस हुन् कि होइनन् भन्ने मलाई साँच्चै थाहा छैन।’
चीनको गुप्तचर निकायका लागि काम गरेको आशंका गरिएकी एलिस सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलकी पूर्वकार्यकारी हुन्। उनीसँग जेन्सेनको सम्बन्ध रहेको खुलासा भएपछि एनभिडियामा विवाद उत्पन्न भएको थियो।
जेन्सेनले विवाहबाहिर सम्बन्ध रहेको स्वीकार गर्दै पत्नीप्रति बेइमानी गरेको बताएका थिए। तर, उनले एलिससँगको सम्बन्धबारे भने स्पष्ट पारेका छैनन्।
ट्रम्पले जेन्सेनले आफ्नो गल्तीबाट ठुलो पाठ सिकेको भन्दै उनलाई एनभिडियाको सीईओमा पुनर्बहाली गर्नु नराम्रो विचार नभएको बताए। उनले भने, ‘धेरै मानिसहरू जेन्सेन फर्किनुपर्छ भन्ने चाहन्छन्। उनलाई पुनः जिम्मेवारी दिँदा नराम्रो हुँदैन।’
अमेरिकी गुप्तचर अधिकारीहरूले जेन्सेनको एलिससँगको सम्बन्धबारे ट्रम्पलाई दुई पटक जानकारी गराएको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।
सन् २०२५ को अन्त्यतिर पहिलो पटक र सन् २०२६ मे १२ मा विदेशमन्त्री मार्को रुबियोले दोस्रो पटक ट्रम्पलाई यसबारे जानकारी गराएका थिए। तर, त्यसबेला ट्रम्पले कुनै कदम नचालेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
एलिसमाथि लागेको जासुसीको आरोपलाई चीनले अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले उक्त आरोप आधारहीन र निन्दनीय रहेको बताएका छन्। मेगास्पिडले पनि एलिसले सन् २०२५ अगस्ट ३० मै कम्पनी छाडेको र अहिले कुनै भूमिका नरहेको जनाएको छ।
यसैबिच, जेन्सेनलाई पुनः सीईओ बनाउन उनका समर्थकहरूले अभियान चलाएका छन्। ‘स्ट्यान्ड विथ जेन्सेन’ नामको अभियानमा एनभिडियाका कर्मचारी, सेयरधनी तथा स्पेसएक्सका प्रमुख एलन मस्क र एपिक गेम्सका प्रमुख टिम स्वीनीलगायतले समर्थन जनाएका छन्। उनीहरूले स्वतन्त्र अनुसन्धान पूरा नहुँदासम्म जेन्सेनलाई पुनः जिम्मेवारी दिन कम्पनीको सञ्चालक समितिसँग माग गरेका छन्।
तर, एनभिडियाको सञ्चालक समितिले तत्काल जेन्सेनलाई पुनर्बहाली गर्नेबारे विचार नगरेको एपीले जनाएको छ। कम्पनीले स्थायी सीईओ नियुक्त नहुँदासम्म प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी दिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने एनभिडियाको नेतृत्वमा ठुलो परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले आगामी सीईओ कम्पनीबाहिरबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन्। एनभिडियाका चिप अवैध रूपमा चीन पुर्याइएको थियो कि थिएन भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।
जेन्सेनको विवादबारे अमेरिकी संसद्का विभिन्न समितिले पनि चासो देखाएका छन्। उनले डिसेम्बरको पहिलो साता संसद्का समितिसमक्ष बन्द कोठाभित्र बयान दिने सम्भावना छ। सिनेटको बैंकिङ समितिले उनलाई र वाणिज्यमन्त्री हावर्ड लुटनिकलाई पनि बयानका लागि अनुरोध गरेको छ।
यस विवादले एनभिडियाको सेयर मूल्यमा समेत असर पारेको छ। अक्टोबरको सुरुदेखि कम्पनीको सेयर मूल्य ३० प्रतिशतभन्दा बढी घटेको छ। एआई प्रविधिका लागि आवश्यक चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक एनभिडियाको नेतृत्व विवादले प्रविधि क्षेत्रमा समेत चासो बढाएको छ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले जेन्सेनले निर्माण गरेको कम्पनीप्रति आफू आभारी रहेको बताएका छन्। तर, एनभिडियाको समस्याबारे पर्याप्त जानकारी नभएकाले उनलाई सीईओमा फर्काउनुपर्ने वा नपर्ने विषयमा टिप्पणी गर्न नसक्ने उनको भनाइ छ। उनले भने, ‘नायकहरूमा पनि कमजोरी हुन्छन्।’ एजेन्सीको सहयोगमा
प्रकाशित: १ मंसिर २०८३ ०९:१३ मंगलबार



