अन्तर्राष्ट्रिय

ट्रम्पको पाँच हजार डलर ‘लाभांश’लाई कंग्रेसको स्वीकृति चाहिन्छ : सभामुख जोनसन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार डलर दिने प्रस्ताव कंग्रेसको स्वीकृतिबिना कार्यान्वयन गर्न नसकिने सभामुख माइक जोनसनले बताएका छन्।

उनले नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटमा नियन्त्रण कायम राखेमा प्रत्येक अमेरिकी वयस्कलाई ‘ट्रम्प लाभांश’का रूपमा पाँच हजार डलर दिने प्रस्ताव गरेका थिए। उनले यसका लागि कंग्रेसको स्वीकृति आवश्यक नपर्ने बताएका थिए।

तर सभामुख जोनसनले ट्रम्पको प्रस्ताव कार्यान्वयन गर्न कंग्रेसबाट स्वीकृति लिनुपर्ने बताएका हुन्। ‘मलाई लाग्छ, उनलाई कंग्रेसले यसमा काम गर्नुपर्नेछ। यो सिर्जनात्मक विचार हो,’ उनले भने। केही घण्टापछि ट्रम्पले भने आफ्नो प्रस्ताव पूरा हुनेमा जोड दिए। ‘पाँच हजार डलर आउनेछ, १०० प्रतिशत,’ उनले पत्रकारहरूसँग भने।

सभामुख जोनसनले रिपब्लिकन पार्टीको हाउसमा झिनो बहुमत भए पनि ट्रम्पको प्रस्तावलाई कंग्रेसबाट पारित गराउन आफूले काम गर्ने बताए। ‘उहाँ ठुला विचारका राष्ट्रपति हुनुहुन्छ। हामी सक्दो सबै कार्यान्वयन गर्ने प्रयास गर्नेछौँ,’ उनले भने। उनले कंग्रेसले यस विषयमा सहमति खोज्ने पनि बताए।

ट्रम्पको यो योजनामा एक ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्ने अनुमान गरिएको छ। यसले अमेरिकाको बजेट घाटामा थप दबाब पर्नुका साथै मुद्रास्फीति बढ्ने चिन्ता पनि गरिएको छ। अमेरिकाले यसअघि नै ठुलो बजेट घाटा व्यहोरिरहेको अवस्थामा यस्तो रकम वितरण गर्नुपर्ने प्रस्तावले आर्थिक दबाब थप बढाउन सक्ने बताइएको छ।

उनले भने अमेरिकाको अर्थतन्त्र बलियो रहेकाले यस्तो भुक्तानी गर्न सकिने बताएका छन्। ‘हामीले यसलाई सजिलै सम्हाल्न सक्छौँ किनभने हामी धेरै पैसा कमाइरहेका छौँ,’ उनले भने।

हालैको एक सर्वेक्षणअनुसार ट्रम्पले राष्ट्रपति पद कसरी सम्हालिरहेका छन् भन्नेमा करिब एक तिहाइ अमेरिकी वयस्कले मात्र समर्थन गरेका थिए। उनले पद सम्हालेको समयमा ४२ प्रतिशतले उनको कामलाई समर्थन गरेका थिए भने जुनमा यो संख्या ३७ प्रतिशत थियो।

सर्वेक्षणले उनको चुनावी अभियानमा प्रमुख विषय बनेका अर्थतन्त्र र आप्रवासनसम्बन्धी उनको कामप्रति पनि बहुमत अमेरिकी असन्तुष्ट रहेको देखाएको छ। एजेन्सी

प्रकाशित: २९ भाद्र २०८३ १२:०१ सोमबार