अन्तर्राष्ट्रिय

इरानको डरका कारण यात्राका बिचमा ट्रम्पले ‘गोप्य विमान’ परिवर्तन गरेको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको डरका कारण चढ्ने विमान नै परिवर्तन गरेको खुलेको छ।

‘द वाशिंगटन पोस्ट’ ले प्रकाशित गरेको समाचारअनुसार ट्रम्प गत महिना टर्कीको अंकारामा भएको नेटो शिखर सम्मेलनबाट गोप्य रूपमा अर्को सैन्य विमानमा चढेर फर्किएका थिए। तर, ह्वाइट हाउसले भने उनले नियमित ‘एयर फोर्स वान’ विमानबाटै यात्रा गरिरहेको देखाउने नाटक गरेको थियो।

ट्रम्पमाथि इरानबाट ज्यान मार्ने धम्की आएका कारण यो गोप्य कदम चालेको दाबी गरिएको छ। नेटोको बैठक सकेर वाशिंगटन फर्किँदा पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई ट्रम्प उनीहरूसँगै एयर फोर्स वानमै रहेको विश्वास दिलाइएको थियो।

पोस्टले यसका लागि सामग्रीहरूको अध्ययन, यस अपरेशनबारे जानकार एक अमेरिकी अधिकारी र राष्ट्रपतिको यात्राबारे थाहा भएका अर्को व्यक्तिको भनाइलाई आधार बनाएको छ। यद्यपि, यस रिपोर्टको स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन।

ट्रम्प कतारले उपहार दिएर परिमार्जन गरेको नयाँ रातो, सेतो र निलो रङको जेटमा शिखर सम्मेलनमा पुगेका थिए। तर टर्कीबाट उड्नुअघि उनले आफू पुरानो मोडलको निलो एयर फोर्स वान विमानबाट आधा बाटो घर फर्किने बताएका थिए।

त्यसबेला राष्ट्रपतिले पूर्वी इंग्ल्याण्डमा रहेका केही अमेरिकी सेनालाई नयाँ एयर फोर्स वान हेर्ने मौका दिन अंकाराबाट उड्नुअघि नयाँ लक्जरी जेट उडाएको बताएका थिए।

अंकारामा क्यामेराको अगाडि ट्रम्प पुरानो एयर फोर्स वान जम्बो जेटमा चढेर बेलायतको रोयल एयर फोर्स मिल्डेनहतर्फ उडे जस्तो देखाइएको थियो। तर, समाचारमा पुरानो विमान चढेको केही मिनेटभित्रै उनलाई गोप्य रूपमा क्याटरिङ ट्रक (सामान्यतया खाना र सामान लोड गर्न प्रयोग हुने ट्रक) को सहायताले सानो विमान ‘एयर फोर्स सी-३२ए’ मा सारिएको थियो। उनी सोही सानो विमानबाट मिल्डेनहतर्फ उडेको उल्लेख गरिएको छ।

ट्रम्पलाई तेस्रो विमानबाट देश बाहिर निकाल्न गरिएको यो गोप्य योजना र पत्रकारहरूलाई छल्न रचिएको नाटकबारे सोधिएको प्रश्नमा ह्वाइट हाउसले सीधै उत्तर दिन मानेन।

‘राष्ट्रपतिले हालै भनेझैं, अमेरिकाका धेरै शत्रुहरू छन् जसको नजर उनीमाथि छ, र हामी ती खतराहरूलाई सम्बोधन गर्न हाम्रा सबै उपायहरू अपनाउँछौं,’ ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन चेउङले एक विज्ञप्तिमा बताएका छन्।

अमेरिकी सेक्रेट सर्भिसले यस विषयमा केही पनि बोल्न अस्वीकार गर्‍यो भने राष्ट्रपतिको विमान मर्मत गर्ने वायुसेनाले सम्पूर्ण प्रश्न ह्वाइट हाउसलाई नै छोडेको छ। ट्रम्प टर्कीमा रहेका बेला अमेरिकी सेनाले इरानमा व्यापारिक ढुवानीमाथिको आक्रमणको बदला लिन ठुला हमलाहरू गरिरहेको थियो।

‘न्यु योर्क टाइम्स’ र ‘सीबीएस न्युज’ ले गत महिना गुप्तचर अधिकारीहरूले राष्ट्रपति र उनको विमानमाथि सम्भावित आक्रमणको खतरा रहेको चिन्ता व्यक्त गरेको रिपोर्ट गरेका थिए। सोही कारणले गर्दा अंकाराबाट फर्कने पहिलो चरणमा कतारले उपहार दिएको नयाँ विमान प्रयोग नगरिएको बताइएको छ।

यो घटनाले कतारले दिएको विमानको सुरक्षामाथि प्रश्न उठाएको छ। ट्रम्पले यात्रापछि उक्त विमानमा थप सुरक्षा सुधार गरिने बताएका थिए।

सोमबार चेउङले कतारी उपहारको नयाँ विमान ‘राष्ट्रपति र उनका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने उच्चस्तरीय सुरक्षा प्रविधिले सुसज्जित अत्याधुनिक विमान’ भएको बताए।

इरानसँगको तनावपूर्ण अवस्थामा ट्रम्पलाई यसरी लुकाएर अर्को विमानबाट देश बाहिर निकाल्नुले अमेरिकी सुरक्षा अधिकारीहरू कतिसम्म चिन्तित थिए भन्ने स्पष्ट पार्छ।

सेक्रेट सर्भिसका पूर्वविशेष एजेन्ट पल एकलोफले यो सामान्य नभई निकै गम्भीर खालको सावधानी भएको बताए। ‘म यसलाई पूर्ण रूपमा अभूतपूर्व त भन्दिनँ। तर यो एउटा असामान्य घटना हो,’ उनले एपीसँग भने।

यस गोप्य योजनामा सामेल नभएकाहरूले चाल नपाउन् भनेर ट्रम्प र उनका केही सहयोगीहरू विमानस्थलको क्याटरिङ ट्रकमा चढेका थिए। हाइड्रोलिक्सको मद्दतले माथि उठाइएको उक्त ट्रक एयर फोर्स वानको मुख्य ढोकाको अर्कोतर्फ जोडिएको थियो।

ट्रम्पसँगै यात्रा गरिरहेका छौं भन्ने ठानेका पत्रकारहरूको सानो समूहलाई विमान उड्नुअघि झ्यालको पर्दा तलै राख्न भनिएको थियो।

मिल्डेनहल पुगेपछि फोटोग्राफरहरूले ट्रम्प पुरानो एयर फोर्स वानबाट ओर्लिरहेको तस्बिर खिचे, जसले गर्दा पत्रकारहरू उनीसँगै आएका हुन् भन्ने भ्रम परिरह्यो।

डेमोक्र्याटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले यो घटनाको संसदबाट छानबिन गर्न माग गरेका छन्। ‘यो एकदमै अविश्वसनीय र डरलाग्दो छ,’ उनले सोमबार सीएनएनसँग कुरा गर्दै भने।

मिल्डेनहलमा केही समय बिताएपछि ट्रम्प वाशिंगटनसम्मको बाँकी यात्रा गर्न नयाँ एयर फोर्स वान विमानमा चढे। विमानमा रहेका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई इरानबाट एयर फोर्स वानलाई कुनै विशेष खतरा छ कि छैन भनेर सीधै सोधिएको थियो।

‘ठीक छ, मलाई सधैं खतरा हुन्छ। उनीहरूको हिट लिस्टमा म तपाईंहरूभन्दा अगाडि पहिलो नम्बरमा छु,’ ट्रम्पले भने, ‘तर यदि मलाई केही भयो भने, तपाईंहरू पनि सुरक्षित हुनुहुन्न।’

राष्ट्रपति आफैंले पनि नेटो शिखर सम्मेलनमा आफू इरानको ‘नम्बर एक लक्ष्य’ रहेको बताएका थिए। ट्रम्प प्रशासनका धेरै अधिकारीहरूले यस्तो संवेदनशील गोप्य रणनीति सार्वजनिक भएकोमा निराशा व्यक्त गरेका छन्। उनीहरूले भविष्यमा राष्ट्रपतिको सुरक्षामा चुनौती थप्न सक्ने चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सञ्चारमाध्यमका सहयोगमा

प्रकाशित: २६ श्रावण २०८३ १२:४५ मंगलबार