अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार (आज) न्यूयोर्कका मेयर जोहरान ममदानीसँग भेट गर्ने भएका छन्।
संयुक्त राष्ट्र संघको महासभाअघि हुने भेट म्यानहट्टनस्थित मेयर निवास ग्रेसी मेन्सनमा हुनेछ। उनका प्रवक्ताले बैठक न्यूयोर्क सहर र न्यूयोर्कवासीलाई असर गर्ने विषयमा केन्द्रित हुने बताए। ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
आजको भेट ममदानी र ट्रम्पबिचको तेस्रो प्रत्यक्ष भेट हुनेछ। यसअघि उनीहरूबिच नोभेम्बर २०२५ मा ओभल अफिसमा र फेब्रुअरीमा दोस्रो भेट भएको थियो।
मेयर ममदानीले ट्रम्पसँगको कुराकानीमा आफूले सधैं न्यूयोर्क सहरका आवश्यकतालाई प्राथमिकतामा राख्ने गरेको बताउँदै आएका छन्। ‘राष्ट्रपतिको कुरा आउँदा हामी यो सहरका लागि कसरी राम्रो काम गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरिरहन्छौं,’ उनले पत्रकारहरूसँग भने।
उनीहरूबिच राजनीतिक मतभेद रहे पनि विभिन्न विषयमा छलफल हुँदै आएको छ। फेब्रुअरीको भेटमा ममदानीले आप्रवासनसम्बन्धी विषयसँगै न्यूयोर्कमा ठुलो आवास परियोजनाका लागि संघीय सहयोगको प्रस्ताव गरेका थिए।
उनका सहयोगीहरूले आजको भेटमा पनि न्यूयोर्कका आवश्यकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। संयुक्त राष्ट्र संघको महासभाका लागि विश्वका नेताहरू न्यूयोर्कमा भेला भएका बेला हुने यो भेटले पनि ध्यान पाउने देखिएको छ।
यसअघि ट्रम्पले ममदानीलाई ‘मेरो सानो कम्युनिस्ट’ भनेर सम्बोधन गरेका थिए। ममदानीले पनि आफ्नो चुनावी अभियानका क्रममा आफू ट्रम्पको ‘सबैभन्दा खराब दुःस्वप्न’ बन्ने बताएका थिए। तर अघिल्लो भेटपछि ट्रम्पले ममदानीलाई ‘धेरै तर्कसंगत व्यक्ति’ भन्दै न्यूयोर्क चलाउने उनको कामप्रति आफू सहज रहेको बताए।
न्यूयोर्क सहरको मेयर निवासमा राष्ट्रपतिको भ्रमण विरलै हुने गरेको छ। यो भेट इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्नुअघि हुन लागेको हो।
प्रकाशित: ५ आश्विन २०८३ १०:३१ सोमबार