अन्तर्राष्ट्रिय

ट्रम्प र किम भेट्ने चर्चा : उत्तर कोरियाली विदेशमन्त्री रुस-बेलारुस जाने

उत्तर कोरियाली विदेशमन्त्री चोई सोन हुईले रुस र बेलारुसको भ्रमण गर्ने तयारी गरेकी छन्। सरकारी समाचार एजेन्सी केसीएनएले आइतबार जारी गरेको विज्ञप्तिमा यो उल्लेख गरेको छ। एजेन्सीले चोईको भ्रमण दुवै राष्ट्रका विदेश मन्त्रालयको निमन्त्रणामा भएको जनाए पनि यात्राको निश्चित मिति भने खुलाएको छैन।  

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बुधवार दक्षिण कोरियामा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) फोरमको योजनाबद्ध भ्रमणसँगै भएको हो। अमेरिकी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् कि ट्रम्प प्रशासनका अधिकारीहरूले ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिच बैठकको व्यवस्था गर्ने सम्भावनाको निजी रूपमा खोजी गरेका छन्। 

किमले ट्रम्पसँग अन्तिम पटक २०१९ मा वार्ता गरेका थिए। ट्रम्पले सार्वजनिक रूपमा किमलाई फेरि भेट्ने इच्छा व्यक्त गरेका छन्। सम्भवतः यो वर्षभित्र हुन उनको अपेक्षा छ। दक्षिण कोरियाली एकीकरण मन्त्रीले पनि ट्रम्पको भ्रमणका क्रममा किमसँग भेट हुने ‘पर्याप्त सम्भावना’ रहेको विश्वास व्यक्त गरेका छन्। तर यो आधिकारिक तालिकामा नरहेको अधिकारीहरूले बताएका छन्।  

दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको सम्झनामा सेप्टेम्बरमा बेइजिङमा आयोजित सैन्य परेडको क्रममा किमले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई भेटेका थिए। हालका वर्षहरूमा प्योङयाङ र मस्कोबिचको सम्बन्ध उल्लेखनीय रूपमा सुधार भएको छ। 

उत्तर कोरियाले युक्रेनसँग जारी युद्धको समर्थनमा रुसमा करिब १० हजार सैनिक पठाएको छ, जसले दुवै देशको सैन्य सहयोगलाई थप मजबुत बनाएको छ। यसैबिच, उत्तर कोरिया र बेलारुसबिच पनि आर्थिक तथा सैन्य सहकार्य बढेको छ, जसमा त्रिपक्षीय साझेदारीको सम्भावना जोड दिइएको छ। एजेन्सी

प्रकाशित: ९ कार्तिक २०८२ १०:१९ आइतबार